“उसो भए” एनेटले भनिन, “हामीले उसँग राम्रो व्यवहार गर्ने भैयो, हैन त।”
“कोसँग?” मैले सोधेँ।
“काली हप्सी स्कूल आउँदैछे,” एनेटले भनिन्। “प्रिन्सिपलले भन्नुभएको हामीले समस्या खडा गर्न मिल्दैन, हुँदैन।”
लिबले खितखिताउँदै भनिन्, “त्यसोभए त्यसलाई काली हप्सी भन्न पाइएन होइन त!”
“हो” मैले भने। “हामीले राम्रो व्यवहार गर्नुपर्छ।” मैले यसबारे सोचेकी थिइँन। अनि, यो एउटा ठूलो स्कूल भएको हुनाले सायद मैले उनलाई कहिल्यै देख्ने छैन।
म गलत थिएँ। उनको नाम लिन थियो। उनी मेरो बीजगणितको कक्षामा सँगै थिइन्, चुपचाप पछाडि बसेकी। र मेरो अंग्रेजी कक्षामा चुपचाप अगाडि बसेकी। इतिहासको कक्षामा त मेरै छेउमा।
मैले लिनलाई चमेनागृह देखाइदिने निर्णय गरेँ। मैले सोचेँ… त्यसो गर्नु अलि बढी लोलोपोतो जस्तो हुन्छ कि! तर मैले केही बर्ष अघि आफूले स्कूलमा एक्लै बसेर खाना खानु परेको सम्झिएँ।
चमेनागृहमा खाना खानेको लामो लाइन थियो। हामी दुई त्यो लाइनमा मिसिँदा सबैजना चुपचाप भए। हामीले खानेकुरा लिने पालो पाउने बेलासम्ममा खाना खाने टेबलहरू भरिरहेका थिए। हामी आधा भरिएको, नचिनेका केटाकेटीहरू बसिरहेको टेबलमा बस्यौँ। हामी बसेपछि ती सबै केटाकेटी उठे र टेबल छोडेर हिँडे। त्यो टेबलमा हामीसँगै बस्न अर्को कोही आएन।
हामीले एकअर्कालाई हेर्यौँ। उनको छोटो कालो कपाल तरेली परेको थियो, उनको छाला तामा जस्तै खैरो थियो। मेरो कैलो कपाल पनि छोटो थियो र तरेली परेको थियो, र घामले सेकिएको मेरो छाला करिब…करिब उनको जत्तिकै खैरो थियो। मलाई लाग्यो हामी दुई दिदीबहिनी जस्तै देखिन सक्छौँ।
“यदि उनीहरू हामीसँगै बसेर खाना खान चाहँदैनन् भने,” मैले उत्तेजित हुँदै भनेँ, “मलाई लाग्दैन कि उनीहरू मेरा साथीहरू हुन्।”
तर म उनीसँगै बसेँ। हामी ठूला कक्षाहरूमा पढ्दै जाँदा पनि लिन र मैले सँगै खाने गर्यौँ। हाम्रो निजी टेबल थियो; कसैले पनि हामी बसेको टेबलमा आउने साहस गरेन।
एउटा राम्रो कुरा के थियो भने मेरा साथीहरू र अरू थुप्रै केटाकेटीहरू लिनसँग नम्र ब्यवहार गर्थे। खराब पाटो के थियो भने, तिनीहरू मसँग पनि नम्र थिए। लिबले भनिन् “नम्रको मतलब त्यति नम्र पनि होइन।”
कतिपय केटाकेटीहरू हाम्रो नाम काढेर बोलाउँथे र हामीतिर सामानहरू फ्याँक्थे। तर त्यस्तो गम्भीर केही थिएन। हामीलाई वास्तवमा भित्रदेखि कसैले चिनेन। समय बित्दै जाँदा लिन र मैले हामीबीच धेरै साझा कुराहरू भएको पत्तो पायौँ। हाम्रा कक्षाहरू मात्रै एउटै थिएनन्, हाम्रा कतिपय इच्छा आकांक्षाहरू पनि उस्तै थिए।
ती वर्षहरूमा हाम्रा लागि भएको सर्वोत्तम कुरा भनेको फ्रेण्डस् पीस टिम्सका मान्छेहरूसँग भेट हुनु थियो। उनीहरूले हामीलाई अहिंसाबारे बुझाए र जथाभावी नाम काढेर बोलाउनेहरूसँग कसरी असल व्यवहार गर्ने भनेर सिकाए। उनीहरूले हामीलाई त्यस्ता अरू मानिसहरूसँग पनि परिचय गराए जो छालाको रंगले कुनै व्यक्ति कुन विद्यालय पढेको हो वा कस्तो काम पाउन सक्छ भन्ने कुरा निर्धारण गर्छ भन्ने सोच्दैनथे। हामीले उनीहरूसँग रमाइलो गर्यौँ। त्यो रमाइलोले माध्यमिक तहका धेरै क्रियाकलापमा हामी सहभागी नहुँदाको कमी पुरा गर्यो।
म कहिलेकाँही विद्यालयमा पढ्दा ताकाका मेरा बार्षिक डायरीहरू हेर्छु। माध्यमिक तहको दोस्रो बर्ष, जतिबेला मैले चर्चा कमाउन धेरै मेहेनत गरेँ, धेरै भाइबहिनीहरूले मेरो डायरीमा मेरो प्रशंसा गर्दै हस्ताक्षर गरेका रहेछन्। सानो कक्षामा हुँदा थोरैले मात्र हस्ताक्षर गरेका थिए र व्यक्तिगत रूपमा प्रशंसा गरेर खासै केही लेखेका थिएनन्। तर माध्यमिक तहमा हुँदाको मेरो बार्षिक डायरी फरक थियो। मेरा साथी बनुन् भनेर मैले चाहेका सबैले त्यसमा हस्ताक्षर गरेका थिए। उनीहरूले एकजना व्यक्ति आफ्नो विश्वासमा अडिएर खडा हुन सकेकोमा प्रशंसा गरेका थिए। उनीहरूले फरक…फरक रंगका व्यक्तिहरूको सम्बन्धबारे आफ्नो धारणा परिवर्तन भएको उल्लेख गरेनन्, र प्रशंसा पाउनुले एक्लो हुनु र त्यागिनुको क्षतिपूर्ति दियो दिएन म निश्चित छैन। तर उनीहरू मेरो डायरीमा हस्क्षाक्षर गर्न इच्छुक थिए र म त्यसमा खुशी थिएँ।
मलाई डायरीमा लेखिएका मध्ये सर्वोत्तम कुरा लिनको लाग्यो। उनले एक पाना पुरै लेखेकी थिइन्। उनले लेखेकी थिइन्… हाम्रो भेट भएको त्यो पहिलो दिन उनी कति त्रसित थिइन्, र म उनीसामू गएर कुराकानी गर्दा कति खुशी भएकी थिइन्। मलाई अचम्म लाग्यो; उनी त्रसित देखिएकी थिइनन्। तर के गर्नु, तपाईं आफ्नो सबभन्दा मिल्ने साथीबारे पनि सबै कुरा थाहा पाउन, महसुस गर्न सक्नुहुन्न।