शान्तिका लागि खबरदारी

लेखकः मिखाइल रोशचिन, रसिया

नेपाली अनुवादः सुभाष चन्द्र

Nastasia Roshchina, age 17 tempera

Diana Mamieva, age 15 watercolor

सन् १९९९ को अक्टोबरमा एक महिनासम्म रसिया र चेचेन्याबीच युद्ध चर्किएको थियो। चेचेन नागरिकहरू शरणार्थीका रूपमा देशबाहिर भाग्ने बाढी चलेको थियो, तर रूसको मस्को भने शान्त थियो। यस्तो बेला केही मानिसहरूले महसुस गरे… एउटा नयाँ त्राशदीले पुरै देशलाई उथलपुथल पार्नेवाला छ, र लडाईं गरेर रगतको खोलो बगाएर रसियाली र चेचेनहरूबीच आपसी बुझाइ र सुमधुर सम्बन्ध निर्माण हुन सक्दैन।

मैले गहिरो सरोकार र चिन्ता महसुस गरेँ। किनभने त्यो युद्ध र त्यससँग जोडिएका घटना रोक्न म केही गर्न सक्दिनथेँ। मैले धर्ममा अगाध विश्वास राख्ने एकजना धर्मात्मा भिक्टर पपकोभलाई फोन गरेँ। उनले सन् १९९५ मा चेचेन्यामा पहिलो युद्ध हुँदा मानवीय सहयोग जुटाउन, बन्दीहरू आदानप्रदानको व्यवस्था मिलाउन र संक्षिप्त युद्धविरामको अवलोकन गर्न धेरै मेहेनत गरेका थिए। 

हामीलाई अनुभुति भयो… यसपटकको युद्धविरूद्ध कतै, कसैबाट कुनै प्रतिरोध खडा हुने छैन। अधिकांश मानिसहरूले मस्कोमा हालसालै भएका विष्फोटहरू चेचेनहरूले गराएका हुन् भन्नेमा निश्चितताका साथ विश्वास गरे, र पत्रपत्रिकाहरू “हाम्रो सेनालाई काम तमान गर्न देउ!!” भनेर चिच्याइरहेका थिए।

भिक्टरले चेचेन जनतासँग ‌ऐक्यवद्धता जनाउन एउटा भोक हड्ताल आयोजना गर्ने प्रस्ताव गरे। रसियाली राजकुमार अलेक्जेण्डर नेभ्स्कीका शब्द नै हाम्रो उद्देश्य थियोः “बलजफ्ती होइन!! हे प्रभु, बरू सत्यको बलमा”। मस्कोमा स्टालिन कालमा राजनीतिक बन्दीहरू थुन्न खडा गरिएको एउटा ठूलो क्याम्प नजिकै सोलोभेत्स्की स्मारकको आडैमा हामीले हाम्रो हड्ताल सुरू गर्‍यौँ। हामीले स्मारकमै हाम्रो ब्यानर बाँध्यौँ, मानौँ कि त्यो नै हाम्रो आधारस्तम्भ थियो। हाम्रा प्लेकार्डहरूलाई डुङ्गाजस्तै हल्लाइरहेको चिसो हावाबाट जोगिन हामीले त्यो ब्यानर पछाडि आश्रय लियौँ। 

हामीले कुनै खानेकुरा खाएनौ, तातो पानी मात्र पियौँ। स्मारक नजिकै प्लाष्टिकको एउटा सानो छाप्रो बनायौँ। एउटा सानो टेवलमा धार्मिक पुस्तकहरू र मुर्तिहरू राख्यौँ। युद्धमा मरेका चेचेन र रसियनहरू, क्रिश्चियन र मुलसमानहरू सबैका लागि प्रार्थना गर्‍यौँ।

हामी भोक हड्ताल बसेका ठाउँमा आइपुग्ने जोसुकैलाई हामीले के गरिरहेको र किन गरेको भन्ने कुरा व्याख्या गर्‍यौँ, र थुप्रै मानिसहरूबाट समर्थन र सहयोग पायौँ। हामीलाई भेट्नकै लागि अर्को शहरबाट यात्रा गरेर आएकी एक महिलालाई म विशेष रूपमा सम्झन्छु। 

हाम्रो हड्ताल सुरू भएको नौ दिन पछि मस्कोका मेरा एकजना क्वेकर साथी साशा गोरबेन्कोले मेरो सट्टामा हड्ताल गर्न थाले। मैले उनलाई एक हप्ता भोक हड्ताल बस्न भनेको थिएँ। उनी रसियामा चुनाव सुरू हुनेबेलासम्म ४३ दिन हड्ताल बसे। युद्धले रगतको खोलो बगाइरहेका बेला र निर्दोष मानिसहरू मरिरहेका बेला उनले एउटा गहिरो प्रतिवद्धतामा डुब्न आफ्नो अन्तरआत्माबाट आएको आवाज अनुभूती गरे। हड्तालका प्रतिफल न्यून थिए, तर हामीलाई रसियाली जनताका नाममा एकपछि अर्को अपराध भइरहँदा चुप लागेर बस्नु भन्दा केही न केही गर्नु उचित लाग्यो। 

हड्ताल थालेको पाँच हप्ता पछि, भिक्टर चेचेन्याका राष्ट्रपति अल्स्लान मास्खादोभलाई भेट्न चेचेन्या गए। त्यस भेटघाटले सैन्य गतिबिधि रोक्न सक्छ भन्ने उनको विश्वास थियो। सन् १९९९ को डिसेम्बरमा उनी इन्गुसेतियाको स्लेप्तसोभ्की भन्ने ठाउँका लागि उडे। चेचेन जनताले आफुभन्दा भिन्न धर्म मान्ने असल नियतका भिक्टरलाई सम्मानका साथ स्वागत गरे। उनी उरूस…मार्तान् र भालेरिक गाउँहरूसम्म पुगे, तर केन्द्रीय सेनाको नियन्त्रणक्षेत्रको सीमारेखा नाघेर अघि बढ्न सकेनन्।

सन् २००० को जाडो याममा, भिक्टरले पैसा बोकेर चेचेन्याको यात्रा गरे र गाउँलेहरूका लागि पिठो ल्याइदिए। बर्खा याममा उनले राष्ट्रपति मास्खादोभलाई भेटे। तर शान्तिको बाटो सोचेभन्दा गाह्रो प्रमाणित भयो। युद्धले हरेक दिन घृणाको नयाँ बीउ रोपिरह्यो।

मनबाट घृणाहरू हटाएर मात्रै हामी एकअर्कालाई भेट्न, बुझ्न सक्छौँ। शान्ति भन्दा अमूल्य अर्को कुनै कुरा छैन भन्ने कुरामा मेरो विश्वास भने डगमगाएको छैन।