रंगीचंगी चकलेटहरूको पोको

लेखकः इसाबेल चैम्प वोल्स्ले, अमेरिका

नेपाली अनुवादः सुभाष चन्द्र

Anzor Hashagulov watercolor

Milana Kurbanov, age 11

Anzor Hashagulov watercolor

घरमा हामी चारजनाले भरखरै पारिवारिक बाइवल अध्ययन सुरू गरेका थियौँ। त्यही क्रममा हामीले एउटा पंक्ति भेट्यौः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खानेकुरा खुवाऊ” (रोमन १२:२०)। यो कुराले खासगरी हाम्रा सात र दश बर्षका छोराहरू छक्कै परेका थिए। “शत्रुलाई किन खुवाउनु?” उनीहरूले अचम्म माने।

म र मेरो श्रीमान् पनि अचम्म पर्‍यौँ। जोनसँग एउटै उत्तर थियो, “हामीले त्यसै गर्नुपर्छ किनभने भगवानले त्यसै भन्नुभएको छ।” हामीले सोचेका थिएनौँ… चाँडै यो कुरा अनुभव गरेरै बुझिनेछ।

पाँच कक्षामा पढ्ने हाम्रो छोरो जुनियर जोन हरेक दिन स्कुलबाट घर फर्केपछि कक्षामा उभन्दा पछिल्लो बेञ्चीमा बस्ने साथीबारे गुनासो गरिरहन्थ्यो। “स्मिथ गुरूमाले नहेरेका बेला त्यो बब मलाई मुड्कीले हानेको हानेकै गर्छ। एकदिन चौरमा खेलिरहेका बेला म पनि त्यसलाई कसेर बजाइदिन्छु।”

मलाई आफैँ स्कुल गएर बबलाई मुक्का हानिदिउँ जस्तो लागिरहेको थियो। प्रष्टै थियो, बब एउटा छुद्र केटो हो। अनि ती स्मिथ गुरूमाले चैँ किन आफ्नो काम राम्रोसँग नगरेकी नि! तिनलाई पनि शब्दका मुक्का हान्न पाए हुन्थ्यो! “सायद दाइले आफ्नो शत्रु बबलाई केही खानेकुरा खुवाउनु पर्छ होला!” सानो चैँ छोराले हामी सबैलाई चकित पार्ने यसो भनिरहँदा पनि जुनियर जोनमाथि स्कूलमा भइरहेको अन्याय सम्झेर मेरो दिमाग उम्लिरहेको थियो।

यो “शत्रु” को कुराबारे हामी कोही पनि निश्चित थिएनौँ। हामीलाई लागेन… एउटा शत्रु पाँच कक्षामा हुनुपर्छ। हामी ठान्थ्यौँ… शत्रु त त्यस्तो व्यक्ति हुन्छ जो अलि टाढा अर्कै ठाउँमा हुन्छ, यहीँ नजिकै होइन।

“ठिक छ, यदि ईश्वरको सन्देश त्यस्तो छ भने त्यसै गरेको राम्रो,” मैले जुनियर जोनलाई भनेँ। “के तिमीलाई थाहा छ बबलाई के खान मन पर्छ? यदि तिमीले उसलाई केही खुवाउने हो भने उसलाई मन पर्ने कुरा खुवाउनु नै उचित हुन्छ।”

मेरो ठूलो छोराले एकछिन सोच्यो। “रंगीचंगी चकलेट” उ सम्झेर करायो। “बबलाई रंगीचंगी चकलेट एकदमै मन पर्छ।” अनि भोलिपल्ट विहान हामीले बजारबाट एक प्याकेट रंगीचंगी चकलेट किनेर ल्यायौँ। जुनियर जोनले त्यो चकलेट स्कूल लिएर जाने भयो। हामी निकै उत्सुक थियौँ… शत्रुलाई खानेकुरा खुवाउने कुराले साँच्चै काम गर्ला त!

कस्तो रणनीति प्रयोग गर्ने भन्नेबारे हामीले अघिल्लो रात छलफल गर्‍यौँ। अर्को पटक जुनियर जोनलाई बबले मुक्का हानेपछि जुनियर जोन पछाडि फर्किने र बबको अगाडि बेञ्चीमा रंगीचंगी चकलेटको प्याकेट राखिदिने सल्लाह भयो।

भोलिपल्ट दिउँसो म धैर्य गरेर स्कूल बस फर्किने समय कुरेर बसेँ। केटाकेटी लिएर स्कूलबाट बस फर्कियो। मेरा छोराहरू बसबाट ओर्लिँदै गर्दा म उनीहरूलाई लिन बसतर्फ लम्किएँ। म पुग्दानपुग्दै जुनियर जोन मलाई हेरेर करायो, “हाम्रो रणनीतिले काम गर्‍यो, ममी। साँच्चै मजाले काम गर्‍यो।”

उसको सानो भाइले यो सफलताको हक दावी गर्‍यो, “आइडिया कसको नि!”

मलाई अझै विस्तारमा सुन्न मन थियो, “बबले के गर्‍यो? के भन्यो?”

“उ यति छक्क पर्‍यो कि केही भन्नै सकेन… खाली त्यो चकलेटको प्याकेट हेरेर बस्यो। तर त्यो दिनभर उसले मलाई मुक्का हानेन!” जुनियर जोन र बबलाई साथी बन्न धेरैबेर लागेन… यो सबै त्यो चकलेटको पोकाको कमाल थियो।