पहिलो विश्वयुद्घ पछिको पृष्ठभूमिमा तयार गरिएको एउटा गाउँको कथा हो यो। उक्त गाउँ युद्धले पुरै तहसनहस भएको थियो।
मेरी विहान अँध्यारो छँदै उठिन्। शितलहरको कठ्याङ्ग्रिने चिसोले उनको लिखुरे जीउ लुगलुग कामिरहेको थियो। उनले धुलोमैलोले ढाकिएको भुईंमा लगाएको झुत्रे डसनाको आफ्नो ओछ्यान मिलाइन्। उनी हरेक रात एउटै डरलाग्दो सपना देखेर विचलित हुन्थिन् र उनलाई कालो बादलले छोपेझैँ हुन्थ्यो।
उनले देख्ने गरेको सपना सधैँ उनको प्यारो गाउँमा भएको आफ्नो घरबाट मामन र ग्राण्डमेरीसँग साँघुरो गल्लीतिर हिँड्दै सुखद तरिकाले सुरू हुन्थ्यो । झ्यालहरू मुन्तिर उज्याला रंगका फुलहरू हल्लिरहेका हुन्थे, र घामको किरण परेर चर्चको घण्टाघर चम्किरहेको हुन्थ्यो।
त्यसपछि बन्दुकहरू पड्काउँदा निस्कने डरलाग्दा झिल्का उनीहरूको गाउँतिर फैलिन थालेसँगै उनी काम्न थाल्थिन्। मामन र ग्राण्डमेरी उनलाई बाक्लै रूखहरू भएको झाडीतिर धकेल्थे, र त्यहाँ उनीहरू जमिनमा घोप्टो परेर पल्टिन्थे। निलो बर्दी लगाएका सैनिकहरू समुद्रका छालहरू झैँ अघि बढ्थे। बन्दुकहरू! लडाईं! विष्फोट! चिच्याहट! आगो! जब सैनिकहरू गइसकेका हुन्थे, गाउँ पनि विलाइसकेको हुन्थ्यो। मेरी, उनकी आमा र हजुरआमा एउटा पुरानो फलफूल गोदाममा शरण लिन्थे।
मेरी फेरि तन्द्रा (पालतो निन्द्रा) मा फर्किन्थिन्। सैनिकहरू परेड खेलिरहेका हुन्थे। निलो बर्दी लगाएर फ्रान्सेली सैनिकहरू पछि हरियो बर्दी लगाएका जर्मन सेनाहरू आउँथे, अनि खैरो रंगको बर्दीमा अमेरिकी सैनिकहरू। उनीहरू हाँस्थे र केटाकेटीहरूलाई सिक्काहरू दिन्थे, तर गाउँ चाहिँ तहसनहस पारेर छोड्थे।
यसरी नै एक विहान मेरी सपनाबाट व्युँझिइन्। त्यसदिन फलफूल राख्ने गोदामघरका छानामा सूर्यका किरण पोखिइसकेका थिए। बाहिर नयाँ आवाजहरू सुनेर उनी छक्क परिन्… त्यो के होला! “मामन, सेनाहरू फर्किएर आए कि क्या हो?” उनले ओछ्यानबाटै सोधिन्।
“हैन प्यारी। गएर हेर को आएको छ,” यसो भनिरहँदा मामनको अनुहारमा अनौठो खुशी छाएको थियो।
मेरी फलफूल गोदामको भर्याङ् चढिन्, र बाहिर हेरिन्… त्यहाँबाट नजिकै उनले खैरो बर्दी लगाएका, बर्दीको दुवै कुममा र टोपीमा रातो र कालो तारा टाँसेका नयाँ मानिसहरू देखिन्।
केही मिनेट ती मानिसहरूलाई हेरिसकेपछि मेरी “मामन…!” भन्दै रून लागिन्। उनीहरूले बन्दुक होइन, आरा र हम्मर बोकेका थिए। उनीहरू मानिसहरूलाई घर बनाइदिँदै रहेछन्! बर्दी लगाएका हुनाले मेरीलाई लागेको थियो ती मानिस सेना हुन्, तर ती त वेलायती र अमेरिकी क्वेकरहरू थिए।
मेरी दौडिँदै जस्तो गोदामको भर्याङ् ओर्लिइन् र छवटा सिक्का राखेको मोजाको पोको समाईन्। उनको परिवारसँग भएको जम्माजम्मी पैसै त्यति थियो। उनी हत्तारिँदै फेरि भर्याङ् उक्लिइन्… असहज तर आशावादी भावना लिएर । उनी ती मानिसहरूको अगुवासम्म दगुर्दै पुगिन् र संकोच मान्दै आफूसँग भएका सिक्का देखाइन्। “सर, तपाईंहरू मलाई छ रूपयाँमा एउटा घर बनाइदिन सक्नुहुन्छ?”
ती अगुवा छक्क पर्दै मेरीलाई प्रश्न दोहोर्याउन भने, अनि अलि गम्भीर बनेर उत्तर दिए, “अच्छा, ठिक छ हजुर, के गर्न सकिन्छ हामी हेरौँला।”
के होला त भनेर मेरीले हरेक दिन ती मानिसहरूलाई नियालिरहिन्।
के ती मानिसहरूले त्यो ठाउँ छोड्नु अघि मेरीको परिवारका लागि एउटा घर बनाइदेलान् त? करिब…करिब आश मारिसके पछि मेरीले आफ्नो प्रश्नको उत्तर पाइन्, “तिम्रो घर बन्ने भो!” उनको घर अरूको जस्तै सानो थियो, तर उनका लागि त्यो संसारकै सबैभन्दा सुन्दर घर थियो।
घर बनिसकेपछि, ती पुरूषहरूको अगुवाले एउटा गज्जवको उत्सव आयोजना गरेर “महारानी, चावी लिनुहोस्” भन्दै घरको मूल ढोकाको चावी मेरीका हातमा राखिदिए।
मेरी घरको ढोका खोल्न अघि बढिन्। सबै गाउँलेहरू यो दृष्य हेरिरहेका थिए। तर मेरी बीचबाटोमै एकछिन् रोकिइन्, र फर्केर कुद्दै गोदामघरतिर गइन्। अनि त्यो अस्तिको छ रूपैयाँ सिक्का राखेको मोजाको पोको लिएर फर्किइन्। घर बनिसक्यो, पैसा चैँ अति नै थोरै छ, तर उनीसँग भएकै त्यति थियो। मेरीले सिक्का हातमा निकालिन् र ती अगुवाका हातमा गनिदिइन्। अनुहारमा ठूलो मुस्कान बोकेर मेरी आफ्नो परिवारसँग घरभित्र छिरिन्। माया र कृतज्ञताले उनीहरूको हृदय र घर दुवै भरियो।