मलाई हिर्काउन ठिक्क परेको व्यक्ति
लेखकः कलहोन गेइगर, अमेरिका
नेपाली अनुवादः सुभाष चन्द्र
सन् १९४७ को वसन्त ऋतुमा एक दिन म फ्लोरिडामा एकजना साथीको बारी जोत्न सहयोग गर्दैथिएँ। म दोस्रो विश्वयुद्धका क्रममा लडाईंमा सामेल हुन अस्वीकार गर्ने एक प्रतिबद्ध शान्तिवादी युवा थिएँ, र गाउँघरमै बसेर कृषिकर्म गर्न पाउँदा खुशी थिएँ।
कुनै यो वा त्यो अपराधमा दोषी प्रमाणित भएर श्रमशिविरमा राखिएका पुरूषहरूको एउटा समूह मैले जोतिरहेको बारीको छेवैमा काम गरिरहेको थियो। उनीहरूबाट जोगिएर बस्ने विचारले म बारीको एक छेउमा हलो मिलाउने निहुँ गरि झाडीमा छलिएर बसेँ। श्रमशिविरको पोशाक लगाएका एकजना पुरूष हातमा मोटो डण्डा बोकेर झाडीबाट फुत्त निस्किए।
म नजिकै उभिएर उनले भने, “मलाई एकदमै पैसा चाहिएको छ, तँसँग जेजति छ त्यो सबै निकाल।”
मैले भनेँ, “यदि तिमीलाई त्यस्तो गाह्रो छ भने मलाई भन न, यस्तो तितो…खस्रो किन गरेको?” यति भनेर म काममै लागेँ।
उनले आफ्नो हातमा उचालेको डण्डा भुईंतिर निहुराए।
मैले भनेँ, “तिमी श्रमशिविर छोडेर भाग्दैछौ। तर माटैमुनी पसे पनि तिमीलाई फेरि पक्रिनेछन्, यो कुरो थाहा होला नि?” उनले भने, “थाहा छ, तर मेरा गोडामा जंजीर बाँध्ने नाइकेहरू साह्रै निर्दयी छन्।”
हाम्रो बातचित हुँदा म काम गरिरहेकै थिएँ। अकस्मात उनले लट्ठी भुईंमा फ्याँके। “तिमीले जित्यौ,” उनले भने। “म फर्केँ” भन्दै उनी झाडीमा विलाए। म मनमनै धन्यवादको प्रार्थना गरेर काममा लागेँ।
धेरै वर्ष पछि, म कतैबाट घर फर्कँदै थिएँ। एउटा दोबाटोमा पुग्नै लाग्दा मेरा आँखै अगाडि दुईवटा कार नराम्रोसँग जुधे।
ड्राइभरहरू कार बाहिर निस्केर पाखुरा सुर्किँदै, आमनेसामने भएर एकअर्कालाई गालीगलौज गर्न, हात हालाहाल गर्न थाले। एकजना भुईंमा पछारियो र अर्कोले उसलाई रेञ्चले हान्यो।
एक मन त त्यो दृष्य वेवास्ता गरेर घरतिर जाउँ कि जस्तो लाग्यो, तर अन्तरआत्माले भन्यो, “होइन, त्यसरी भागेर हुँदैन। रोकिएर उनीहरूलाई मदत गर!” फोन गरेर प्रहरीलाई बोलाउने समय पनि थिएन। अन्तरआत्माले फेरि अह्रायो, “तँ बलियो छस्, छिटो केही गर!”
त्यो रेञ्चले हान्ने मान्छेलाई मैले पछाडिबाट च्याप्पै समाएँ। उ बल गरेर उम्किन खोज्दै थियो तर मैले उसलाई चोट नलाग्ने तरिकाले अँठ्याइरहेँ। एकैछिनमा अर्को एकजना मान्छे छेउमा आएर सहयोग गर्न खोज्यो। मैले उसलाई प्रहरीमा खबर गर्न भनेँ। मैले उनीहरूलाई त्यहाँ भएको सबै बृतान्त सुनाए पछि मलाई घर जान दिए। अलि भरे मलाई पश्चाताप भयो… मैले लाप्पा खेल्ने कुनै पनि ड्राइभरको अनुहार राम्ररी हेरिनछु।
धेरै वर्ष पछि मैले स्वयंसेवा गरेको एउटा स्थानीय मानसिक अस्पतालबाट एकजना कामदारले मलाई फोन गरेर भनिन्, “जर्ज ह्यारिस नाम गरेको एकजना विरामीले तपाईंलाई चिन्दारहेछन्।” तर मैले कुनै जर्ज ह्यारिस नामको व्यक्तिलाई नचिनेको बताएँ। ती अस्पतालकी कामदारले भनिन्… ती विरामी श्रमशिविरबाट भागेका बन्दी हुन् अरे, उनी तिनै ड्राइभर थिए अरे जसलाई तपाईंले सहयोग नगरेको भए अर्को ड्राइभरले कुटेरै मार्नेवाला थिए अरे।
ह्यारिससँग मेरो कुराकानी भयो। उनले भनेअनुसार उनी अस्पतालबाट निस्केपछि काममा लागे र पैसा वचत गर्न थाले। अहिले केही रकम जम्मा भएको हुँदा मलाई एउटा राम्रो घडी उपहार पठाइदिन चाहन्छन्।
त्यसपछि, ह्यारिसले आफू ठिकठाक रहेको जानकारी दिन समय…समयमा मलाई चिट्ठी पठाइरहे, र थुप्रै पटक सुन्दर उपहारहरू पठाए। मैले सधैं उनको चिट्ठीको उत्तर पठाएँ। तर उनले मेरा चिट्ठीको उत्तर कहिल्यै दिएनन्। एक दिन एउटा कार मेरो घर अगाडि आएर रोकियो र त्यसका ड्राइभर मेरा सामु उभिएर भने, “मलाई विश्वास छ…कल गेइगर तपाईं नै हुनुहुन्छ।”
“हो त,” मैले भनेँ, “अनि तपाईं को नि?”
“जर्ज ह्यारिस,” उनले भने।
उनी शिक्षक भएछन्, र घरमा श्रीमती र छोराछोरी पनि रहेछन्। अहिले उनको स्वास्थ्य विग्रेको रहेछ, त्यसैले मर्नु अघि एकपटक मलाई भेटेर धन्यवाद भन्ने इच्छा भएकाले आएका रहेछन्। उनी आफ्नो कारमा छिरे र गए। कुनै पनि व्यक्तिले के भन्छ, के गर्छ भन्ने कुराले ठूलो फरक पार्छ। कुनै दिन मैले गरेको कार्यले ह्यारिसको जीवनमा र मलाई पनि ठूलो फरक पर्यो। मलाई भित्रैदेखि गर्व लागेर आयो कि म उनलाई चिन्छु।