मकैबारी गोडमेल

लेखकः मुसा अक्मादोभ, चेचेन्या

अंग्रेजी अनुवादः एलब्रस मिन्काइलोभ 

नेपाली अनुवादः सुभाष चन्द्र

Alieva Zulikhan, age 18

Alieva Zulikhan, age 18

Unknown

चेचेन्यामा मुरीद भनेर चिनिने मुस्लिम विद्यार्थीहरूको एउटा समूहले एक दिन कुन्ता-हाजीलाई मकैबारी गोडमेल गर्न सहयोग गर्ने सल्लाह गरे। यो कुरा उनीहरूले आफ्ना आध्यात्मिक गुरू, जसलाई चेचेन्यामा उस्ताद भनिन्छ, उनलाई भनेनन्। किनभने उनीहरू ती गुरूको सन्काहा स्वभावबारे जानकार थिए। बरू उनीहरूले पर्खे र गुरू कतै जान बाटो लागेपछि मात्रै मकैबारीतिर लागे। बारी जंगलको छेवैमा थियो।

यो घटना ग्रीष्म ऋतुको सुरूतिर भएको थियो। शितका थोपा रूखबिरूवामा झुण्डिरहेका थिए र पातहरू झुल्किँदो घामको प्रकाशमा टल्किरहेका थिए। त्यहाँ चराहरूको गीतजस्तो सामूहिक आवाज सुन्न सकिन्थ्यो, भँगेराहरू चौरमा चिरविर गरिरहेका थिए… मानौँ उनीहरूको प्रतिष्पर्धा भैरहेको छ।

मकैबारीमा झार उखेलिरहँदा मुरीदहरूले आफ्नै गीत गाए। उनीहरूले फटाफट काम गरे, मकैबारीको एउटा फराकिलो गह्रो चाँडै गोडिसके। मकैका बोटहरू मधुरो हावामा हल्लिँदै घामतिर तन्किरहेका जस्ता देखिन्थे… मानौँ उनीहरू जागृत भैसकेका छन्। मुरीदहरू आनन्दित महसुस गरिरहेका थिए। उनीहरूले केही समय आराम गरे, र पुनः काममा लागे। यत्तिकैमा कुन्ता हाजी ती मुरीदहरू के गरिहरेका छन् भनेर हेर्न आए। जसै कुन्ता…हाजी मकैबारी पुगे मुरीदहरूले काम रोकेर उनलाई अभिवादन गरे। 

तिमीहरू यहाँ के गरिरहेका? तिमीहरूलाई कसले मेरो मकैबारी गोडमेल गर्न भन्यो? कुन्ता…हाजीले सोधे। 

मुरीदले भने, कसैले भनेको छैन। तपाईंलाई सहयोग गर्न मन लाग्यो त्यही भएर आएका।

म अझै पनि आफ्नो बारी आफैँ गोडमेल गर्न सक्छु। नसक्ने भए तिमीहरूसँग सहयोग मागिहाल्छु। लु आ…आफ्ना कुटेकोदालो टिपेर यता आओ। बारीमा तिमीहरूले गोडेका सबै मकै तिमीहरूकै भयो। शरद ऋतु लागेपछि आउनु र मकै भाँचेर लानु। कुन्ता…हाजीको आवाजमा असन्तुष्टी र उदासी झल्कियो। मुरीदहरूले कुनै प्रतिरोध नगरी कुन्ता…हाजीको कुरा माने, तर उसले आफ्नो सहयोग अस्वीकार गरेकोमा भने दुःख माने। 

कुन्ता…हाजी शितल छायाँमा बसे र मुरीदहरूलाई पनि बोलाएर वरिपरी बस्न भने। मसँग नरिसाओ, मेरो आफ्नो परिश्रमले जेजति प्राप्त गर्न सक्छु त्यति मात्रै प्रयोग गर्छु भनेर मैले अल्लाहसँग प्रतिज्ञा गरेको छु। तिमीहरूलाई दुःखी बनाएँ भने कृपया मलाई माफ गरिदेओ।

विद्यार्थीका आँखामा आँसु भरिए। उनीहरूले भने, हामी कसरी तपाईंलाई माफ गर्न सक्छौँ, तपाईंका बारीमा तपाईंलाई थाहै नदिइ आएकामा बरू हामीलाई चाहिँ माफ दिनुहोस्।

म सँगसँगै अल्लाहले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।आओ एकछिन सबैजना सँगै बसौँ। मैले ल्याएको मकैको रोटी चाखौँ, र गफगाफ गरौँ। यसो भन्दै कुन्ता…हाजीले आफ्नो सानो पोको खोले, पट्याएर राखिएका कपडाका टुक्रा निकाले, र त्यसमा मकैको रोटी र चीज राखेर मुरीदहरूलाई दिए। मुरीदहरूले पनि आफूसँग भएका खानेकुरा कुन्ता…हाजीलाई दिए।

खानेकुरा खाइसक्दा र कुराकानी चल्दै गर्दा मध्यान्हको प्रार्थना गर्ने बेला भयो। उनीहरूले गहिरो भक्तिका साथ प्रार्थना गरे। घरतिर लाग्नु अघि एकजना मुरीदले आफ्ना उस्तादलाई अनुरोध गरे, कृपया हामीलाई मार्गदर्शन गर्नुहोस्। उपदेश दिनुहोस्।

कुन्ता…हाजीले भने, म चारवटा कुरा भन्न चाहन्छु । ती मध्ये दुई कुरा तिमीहरूले अनिवार्य विर्सिनु पर्छ, र अरू दुई कुरा बारम्बार सम्झिरहनु पर्छ। आफूले अरूमाथि गरेका दयाका कर्म विर्सिनु। यदि ती कर्मबारे अरूलाई सुनाउँदै हिंड्यौ भने अल्लाहले तिमीहरूलाई कुनै इनाम दिनुहुनेछैन। अरूले आफूमाथि गरेका खराब कुरा पनि विर्सिनु। यसरी विर्सिंदा, तिमीहरूले त्याग्न गर्नेछौ, त्यो खराब कुराले पनि तिमीहरूलाई त्याग्ने छ। तर हामीले मर्नै पर्छ, र अल्लाहका सामु पर्नैपर्छ भन्ने यी दुई कुरा चाहिं कहिल्यै नविर्सिनु।