बोचा

नेपाली अनुवादः सुभाष चन्द्र

Katya Baikina, age 9 tempera
Unknown pencil and colored pencil

बोचाको उमेर सत्तरी भन्दा बढी भैसकेको थियो, र जीवनमा पहिलोपटक विरामी भएर अस्पताल भर्ना हुनुभएको थियो। केही क्षण त वहाँले बुवा गएतिरै जाने विचार गर्नुभयो जो वर्षौँ अघि एउटा कठोर श्रम शिविरमा बित्नुभएको थियो। तर बुवाले देखेको सपनाले घत परेको हुँदा बोचाले आफ्नो किड्नीको अप्रेशन गर्न डाक्टरहरूलाई अनुमति दिनुभयो। अप्रेशन अति जरूरी भैसकेको थियो।

अप्रेशन सफल भयो, र डाक्टर खाइदको दयालुपन र रेखदेखबाट बोचा यति प्रभावित हुनुभयो कि आफ्नो जीवन बचाइदिएकोमा डाक्टरलाई एउटा विशेष उपहार नदिइ नसक्ने हुनुभयो। तर कुनै पनि उपहार यो चाहिँ ठिक छ भन्ने लागिरहेको थिएन। त्यसैले जब डाक्टरका बुवा विरामी भएर अस्पताल भर्ना भएको सुन्नुभयो तब बोचा वहाँलाई भेट्न, वहाँसँग कुराकानी गर्न, वहाँका डाक्टर छोराले आफूप्रति देखाएको मायाको केही झलक देखाउन प्रतिबद्ध हुनुभयो।

कस्तो अचम्म! अस्पतालमा डाक्टर बुवा बार्जनाकलाई भेट्दा त बोचाको होसै गुम्ला जस्तो भयो। बार्जनाक तिनै व्यक्ति हुनुहुन्थ्यो जसलाई बोचाले जीवनभर खोजिरहनुभएको थियो। र बार्जनाक तिनै व्यक्ति हुनुहुन्थ्यो जसको झुटो बयानले धेरै वर्ष अघि बोचाका बुवा मात्र होइन दाजु र भाइलाई समेत मरून् भनेर कठोर श्रम शिविर पुर्‍याएको थियो! त्यसबेला बोचाले बार्जनाकसँग बदला लिने बाचा गर्नुभएको थियो र अहिले वहाँलाई त्यो मौका मिलेको थियो। तर यिनै मान्छेका छोरा खाइदले बोचाको ज्यान बचाउनुभएको थियो। त्यस्ता छोराका बाबुलाई बोचाले कसरी मार्न सक्नुहुन्थ्यो? तर फेरि यस्तो मान्छेलाई खुलेआम स्वतन्त्रता दिएर कसरी बुवाको आत्मालाई शान्ति दिने? बोचाका मनमा दिनभर यस्ता तर्क आउनेजाने गरिरहे।

साँझमा, भान्साकोठाबाट पाउरोटी काट्ने एउटा चक्कु टिपेर बोचा सास दवाउँदै बार्जनाकलाई राखिएको कोठातिर लम्किनुभयो। बार्जनाक निन्द्रामा परेका बेला बोचाले वहाँप्रतिको बदलाको भावना त्यागौँ कि भनेर पनि धेरै सोच्नुभयो। तथापी, अन्ततः बलजफ्ती आफ्ना पाइला अघि बढाउनुभयो। बार्जनाकलाई राखिएको कोठाको ढोका खोल्नुभयो, र अडिनुभयो। भित्तातिर ढाड फर्काएर हलचल नगरी छेउमा उभिनुभयो र बदला लिने आफ्नो योजना कसैगरी अघि बढाउन नसक्ने महसुस गर्नुभयो। जसै वहाँले चक्कु उठाउनुभयो र बार्जनाकलाई सुताइएको ओछ्यानतर्फ अघि बढ्नुभयो, वहाँलाई रोक्दै र पछि हट्न दवाव दिँदै मनमा एउटा असल डाक्टरको अनुहार झलझली याद आयो।

“तपाईंलाई अहिले कस्तो छ?” सेतो कोट लगाएर छेउमा बस्नुभएका ती असल डाक्टरले बार्जनाकलाई सोध्दै हुनुहुन्थ्यो। “सबै कुरा ठिकठाक छ। तपाईं चाँडै आफैँ हिड्न सक्ने हुनुहुनेछ। मर्ने कुरा थप एक दिनका लागि पन्साउनु पर्छ। त्यसैले, लु अब तपाईंको मुटुको धड्कन जाँचौँ।” बोचाले आफू विरामी भएका बेला आफ्ना पाखुरामा ती डाक्टरका संवेदनशील औँलाहरूले स्पर्ष गरेको स्मरण गर्नुभयो, महसुस गर्नुभयो।

अस्पतालको कोठाको यो दृष्य करिब एक सेकेण्ड जतिमा सकियो। बोचाले फ्याँकेको चक्कु आवाज निकाल्दै भुईंमा झर्‍यो, तर त्यो कसैले टिपेन। बोचाका गालाबाट अश्रुधारा बगे। वहाँले क्रोध र निसहाय महसुस गर्नुभयो। वहाँ चकमन्न अस्पतालमा सबभन्दा उँचो आवाजमा चिच्याउन चाहनुहुन्थ्यो। दशकौँ देखि मनभित्र गढेर बसेको बदलाको भावनालाई करूणाको शक्तिले परास्त गरेको थियो।

वहाँ आफ्नो जीवन बचाउने मान्छेमाथि कदापी हात उठाउन सक्नुहुन्नथ्यो। यो नयाँ बुद्धि नै डाक्टर खाइदका लागि वहाँको उपहार हुनेवाला थियो।