पुनर्मिलन

लेखकः जाल्पा बेर्षानोभा, चेचेन्या 

नेपाली अनुवादः सुभाष चन्द्र

Asya Ymarova, age 16

Vica Teppor, age 8, Chechnya

Gleb Komarov, age 9 ink and watercolor

Karimov Alkhazur, age 16

Unknown

Maleka Saeva, age 19, Chechnya

एलेक्सीलाई आफ्नी आमाको दराजमा राखिएको फोटोको मान्छे आफ्नो बुवा हो भन्ने कुरा थाहा थियो। अहिले वहाँ कहाँ हुनुहुन्छ? वहाँलाई के भएको थियो? आमाले कहिल्यै बताउनुभएन।

एलेक्सी हुर्किए र रसियाली सेनामा भर्ती भए। उनले सेनाबाट चेचेन्या जाने आदेश पाएपछि अन्ततः आमाले बुवाबारे कुरा खोलिन्। “तिम्रा बुवा चेचेन मूलका थिए,” आमाले भन्नुभयो “विल्कुलै फरक पृष्ठभूमिका मानिस भएकाले होला सायद हामी एकसाथ जीवन विताएर खुशी हुन हुन सक्ने अवस्था भएन। त्यसैले वहाँ चेचेन्यास्थित आफ्नै पुर्ख्यौली घर जानुभयो। मलाई आशा छ वहाँले पुनः विवाह गर्नुभयो र खुशी हुनुहुन्छ। म तिमीले वहाँबारे थाहा पाउ भन्ने चाहन्नथेँ, तर पनि वहाँ यहाँ मस्कोमा तिम्रो हेरचाहका लागि मदत गर्न पैसा पठाइरहनु हुन्थ्यो। वहाँलाई तिमीले जसरी पनि खोजेर भेट्टाउनु। सहयोग गर्नु। समय ठिक छैन।” आमाले यत्ति नै भन्नुभयो र एलेक्सीलाई एउटा ठेगाना दिनुभयो।

आफ्नो बुवा बसेको ईंटले बनेको सानो घर पत्ता लगाउन एलेक्सीलाई कुनै गाह्रो भएन। उनी हातहतियारले सजिएको एउटा कार लिएर बुवाको घर गए। केही बेचैन हुँदै, उनले घरको ढोका ढक्‌ढक्याए। उनी एउटा आनन्ददायक पुनर्मिलनको आशमा थिए, तर ढोका खोल्ने महिला त्रसित देखिइन्। लथालिङ्ग पाराले लुगा लगाएका थुप्रै केटाकेटी ती महिलाका पछाडि लुकेका थिए।

“ओहो, यी त मेरा भाइवहिनीहरू पो हुन् त,” एलेक्सीले सोचे। “बुवा कहाँ हुनुहुन्छ?” उनले सोधे।
“वहाँ यहाँ हुनुहुन्न,” टुटेफुटेको रसियन भाषामा महिलाले भनिन्। “धेरै पहिला वहाँ हामीलाई छोडेर हिँड्नुभो। मलाई थाहा छैन कता जानुभयो।” सबै बालबच्चाले टाउको हल्लाएर आफ्नी आमाको कुरामा सहमती जनाए। तिनले त्रसित ब्याँसोका बच्चाले झैँ एलेक्सीलाई हेरे।

एलेक्सीले सोचे, “रसियाली सेनाले बिना सूचना चेचेन पुरूषहरूलाई पक्रेर लैजाने गरे जस्तै म पनि तिनका बुवालाई लिन आएको ठाने होलान् यी भुराहरूले। यी सोच्दै होलान्… मैले यीनलाई झुक्याउँदैछु। यस्तो पाराले बुवा कहाँ हुनुहुन्छ भनेर यीनले मलाई कहिल्यै बताउने छैनन्।”

भोलिपल्ट, एलेक्सी संयोगवस् बुवासँग जम्काभेट भइहाल्ला कि भन्ने आशमा गाडी लिएर फेरि त्यो घर गए। ढोकाहरू बन्द थिए। आज पनि तिनै महिलाले उनै नानीबाबुहरू पछि लाएर ढोका खोलिन्। आफ्ना बुवा कहाँ हुनुहुन्छ भन्ने बताउन उनीहरूले फेरि पनि अस्वीकार गरे।

एलेक्सीले लामो श्वास फेरे र गाडी लिएर फर्किए। स्पष्ट थियो, उनी र उनका बुवा अपरिचित नै रहुन् भन्ने भाग्यको खेल रहेछ। एलेक्सीको चेचेन्या यात्राअवधि सकिनै लागेको थियो। तर उनको दिमागमा उनकी आमाका शब्द फेरि घुम्न थाले, “जसरी पनि आफ्नो बुवालाई खोज्नु र सहयोग गर्नु।”

भोलिपल्ट विहान एलेक्सी चाँडै उठे। गाडी लिएर बजार गए र केटाकेटीहरूका लागि चकलेट बिस्कुट अनि तिनकी आमाका लागि पिठो र चिनी किने। ती सामान भाडाको सानो कारमा हाले। अनि सेनाले होइन सर्वसाधारण मानिसले लगाउने जस्ता लुगा लगाएर उही घर गए।

आज त्यो घरमा उनलाई अलि मित्रवत् स्वागत भयो। चकलेट पाएर केटाकेटीका आँखा खुशीले चम्किएको देख्दा उनी गद्‌गद् भए। त्यहाँ भएमध्ये सबभन्दा हुर्केको बच्चाले एलेक्सीलाई कारबाट बोराहरू झिक्न सहयोग गरे।

महिलाले सबभन्दा सानो बच्चालाई कानमा खुसुक्क केही भन्नुभयो, अनि त्यो बच्चा कुद्देर घरतिर गयो। एकैछिनमा, एकजना बुढो मान्छे बाहिर बगैँचामा निस्कनुभयो। वहाँले केहीक्षण घोरिएर बाहिर उभिएको युवकलाई हेर्नुभयो, र उनलाई भेट्न अघि बढ्नुभयो। एलेक्सीले आफ्नो निधारमा बगिरहेको पसिना पुछे र टाउको यस्सो उठाएर अघिल्तिर हेरे। उनले आफ्नो अगाडि प्रशन्नताले भरिएको मुस्कान सहितको एउटा अनुहार देखे। त्यो अनुहार आफ्नी आमाको दराजमा उनले देखेको फोटोको अनुहारसँग ठ्याक्कै मिल्दो थियो। “नमस्कार, बुवा,” एलेक्सीले भने। त्यो अत्यन्तै भावुक क्षण थियो, जसको प्राप्तिका लागि उनले आफूले सम्झन सक्ने भन्दा पनि लामो समय देखि पर्खिरहेका थिए।