दया: एक कविको सम्झना

लेखकः येभ्गेनी येभ्तुसेन्को, रूसको पृष्ठभूमिमा लेखिएको

नेपाली अनुवादः सुभाष चन्द्र

Unknown artist, pen and watercolor
Artur Cherov, ink
Unknown artist, pen and oil pastel
Unknown artist, pen and watercolor
Unknown artist, pen and watercolor
Unknown
Unknown artist, pencil and watercolor

सन् १९९४ मा आमा र म मस्को फर्क्यौं। र त्यहाँ मैले पहिलो पटक हाम्रा शत्रुहरू देखेँ। यदि मेरो स्मृति सही छ भने, त्यतिबेला करिब बीस हजार जर्मन बन्दीहरू एकै लाइनमा पंक्तिबद्ध भएर मस्कोका सडकहरू पार गर्दै अघि बढ्नेवाला थिए। सडकका दुवै किनारा मानिसका भिडले ढाकिएका थिए। त्यो भिड सम्हाल्न सेना र प्रहरीलाई निक्कै गाह्रो भइरहेको थियो ।

भिडमा उभिएकाहरू धेरैजसो महिला थिए- कडा परिश्रमका कारण खस्रा भएका हात, लिपिस्टिक लाउने बानी नपरेका ओठ र युद्धको बोझले ग्रस्त नाजुक काँध भएका रूसी महिलाहरू। ती प्रत्येक महिलाको कोही न कोही- बाबु वा श्रीमान्, दाजुभाइ वा छोरो जर्मनहरूबाट मारिएका थिए। ती महिलाहरू जर्मन बन्दीहरूको पंक्ति देखा पर्ने स्थानतर्फ घृणायुक्त दृष्टि लगाएर हेरिरहेका थिए। अन्ततः त्यस स्थानमा जर्मन बन्दीहरूको पंक्ति देखा पर्‍यो।

आफ्ना दंभी चिउँडाहरू अररो पारेर अघि पसार्दै, तिरस्कारले भरिएका दुवै ओठ टपक्क टाँसेर, आफूले गर्ने हरेक कुरा आफूसँग हारेका शत्रुहरूको भन्दा श्रेष्ठ देखाउन लागिपरेका सेनाको पंक्तिको सबभन्दा अगाडि जर्नेलहरू देखा परे ।

“दुर्गन्ध हटाउने औषधीजस्तो गनारहेका छन्, हरामीहरू,” भीडबाट कसैले भन्यो।
सडक किनारामा उभिएका महिलाहरू आफ्ना मुट्ठी कसेर चलमलाए । उनीहरूलाई अघि बढ्न नदिन सिपाही र पुलिसहरूले निकै संघर्ष गर्नुपर्‍यो। त्यहीबेला भीडलाई अचानक केही भयो।

सडक किनारामा उभिएका मानिसहरूले दुर्बल शरीर भएका, दाह्री नकाटेका, झुत्रा र घिनलाग्दा लुगा लगाएका, रगतका टाटा लतपतिएका पट्टी बाँधेका जर्मन सेनाको पंक्ति देखे। कतिपय सेनाहरू आफ्ना साथीका काँधमा टाउको अड्याएर वा वैशाखी टेकेर शिर झुकाउँदै हिँडिरहेका थिए। सडकलाई मौनताले छोप्यो। त्यहाँ सुन्न सकिने आवाज केवल सेना हिँड्दा निस्केको बुटको ढ्याप ढ्याप र बैशाखीको ट्याक ट्याक मात्रै थियो।

मैले अचानक एकजना बृद्ध महिलालाई देखेँ। उनले पत्रु भइसकेको जुत्ता लगाएकी थिइन् र एउटा हात एकजना प्रहरीका काँधमा राखेकी थिइन्। “मलाई अगाडि जान बाटो दिनुहोस्,” उनले ती प्रहरीलाई भनिन्। ती बृद्ध महिलामा पक्कै त्यस्तो केही हुनुपर्छ जसका कारण ती प्रहरीले पछि हटेर उनलाई बाटो छोडिदिए। उनी जर्मन बन्दीहरू हिँडिरहेको पंक्तिसम्म पुगिन्, आफ्नो कोटको खल्तीबाट रूमालमा पोको पारेको केही कुरा झिकिन् र त्यो पोको फुकाइन्। पोकामा एउटा कालो पाउरोटीको थियो।

अनि अकस्मात सबै दिशाबाट महिलाहरू पाउरोटी, चुरोटलगायत आफुसँग भएका खानेकुराहरू कुरा लिएर सैनिकहरूका पंक्तितर्फ दौडिन लागे।

अब त्यहाँ कोही शत्रु थिएन ।सबै मानव थिए।