त्यो मस्जिद

लेखकः जर्मन कुज्नेत्सोभ…भालिन, रसिया

नेपाली अनुवादः सुभाष चन्द्र

Heather Kroger, age 20 ink and colored pencil
Katia Baikina, age 9 tempera
Alyona Ovdenko, age 8 tempera
Artur Ymarov, age 14 pencil
Lera Nevsorova, age 8 tempera
Katia Baikina, age 9 tempera
Rovzan Elnukayeva watercolor

मेरी आमाको सम्झनामा, जो एकजना कामीकी नातिनी हुनुहुन्थ्यो।

एकदिन म र मेरो साथीलाई मुसलधारे पानीले चुट्यो। हामी भिजेर मुसो भएका थियौँ। मेरो साथीको पनि साथी अखमतले हामीलाई आफ्नो घरमा स्वागत गरे र भिजेको जीउ सुकाउन दिए। अखमतको घरभित्र एउटा फोटो महंगो जस्तो लाग्ने फ्रेममा सजाएर टाँगिएको थियो।

“तिमीलाई मन पर्‍यो?” फोटोतिर देखाउँदै अखमतले मलाई सोधे। “यो रसिदा मस्जिद हो। यसबारे दुईवटा निकै चाखलाग्दा कथाहरू छन्,” उनले भने।

पहिलो कथा धेरै समय अघिको हो।

एकजना कामी दाइ हुनुहुन्थ्यो। वहाँको नाम इसमेल थियो। वहाँ पर…परका गाउँसम्म परिचित हुनुहुन्थ्यो किनभने वहाँ धातुका जस्तासुकै सामान बनाउन सिपालु हुनुहुन्थ्यो र कसैको अनुरोध टार्नुहुन्नथ्यो।

एकदिन वहाँ मृत फेला पर्नुभयो; मुटुले काम गर्न छोडेको रहेछ। वहाँको सद्गतिमा सहभागी हुन गाउँका हरेक घरबाट मलामी आएका थिए। चिहान बनाउने ठाउँबाट खोलापारीसम्म मलामीको लामो लर्को लागेको थियो। त्योबेला खोलामा बाढी आएको थियो। हिमालबाट गड्‌गडाउँदै बगेर आएको हिउँ र पानीले खोलाको पुल बगाएको रहेछ। खोलो वेगवान गतिमा वहुलाएर अघि बढ्दैथियो।

मानिसहरूले काम चलाउ पुल बनाइहेरे तर त्यो निकै जोखिमपुर्ण थियो।

इसमेलको लास अर्थी (लास बोक्न बनाइएको साधन) मा बाँधिएको थियो। लास खोलापारी लैजान मलामीहरू अर्थीलाई डोरीले बाँधेर त्यो काम चलाउ पुलमाथिबाट घिसार्दै थिए। बीचतिर पुग्दानपुग्दै अर्थी बाँधेको डोरी मलामीहरूका हातबाट फुत्कियो। लास खोलामा झर्‍यो र हिउँको समतल ढिक्कामाथि थपक्क अडियो। लास अडिएको हिउँको ढिक्को खोलासँगै बगिरहेको थियो।
मानिसहरू कराउँदै, चिच्याउँदै खोलाको किनारै किनार दगुर्न थाले। एकजना रसियाली सैनिकले ती मानिसहरू रोएको, कराएको थाहा पाए र तत्कालै खोलामा फाल हाने। उनका खुट्टामा हिउँका ढिक्काहरू बजारिए। खोलाको वेगले उनलाई अझ अफ्ठयारा र बेगवान ठाउँतिर धकेल्न थाल्यो।

तर कसो…कसो गरेर उनले अर्थी बाँधिएको डोरी समाउन सके र त्यो लास अडिएको हिउँको ढिक्कोसहित अर्थीलाई खोलाकिनारतिर ताने। अत्तालिँदै किनारमा बसेका मलामीहरूले ती सैनिकलाई घिसारेर खोला किनारबाट बाहिर निकाले र लासलाई पनि होशियारीपूर्वक किनारा लाए।

सैनिकका जीउमा जताततै रगतका टाटा देखिन्थे। उनका लुगा चिसाले कक्रिन थाले। उनलाई न्यानो बनाउन एकजना महिलाले नजिकैको झुप्रामा पुर्‍याइन् र आफू चाहिँ मलामीहरू भएतिरै फर्किइन्।

खोलो तरेर सद्गति गर्न नसकेका कारण, गाउँलेहरूले अर्थी र इसमेलको लास आफ्नो समुदायको एउटा जीर्ण मस्जिदमा थन्क्याए। अनि ती सैनिकलाई धन्यवाद दिन भनेर झुप्रातिर लागे । तर उनी त त्यहाँबाट हिँडिसकेका रहेछन्।

झुप्राकी एक बृद्ध महिलाले भन्नुभयो, “ती सैनिकको कपाल कैलो थियो, आँखा स्वर्गमा बस्ने भगवानका जस्तै निला थिए।” सैनिकले सुकाउनका लागि आफ्नो जीउबाट गञ्जी उतार्दा ती महिलाले सैनिकको घाँटीमा एउटा क्रश माला झुण्डिएको देख्नुभएको थियो। महिलाले ती सैनिकको नाम सोध्नुभएनछ र कहाँ जान हिँडेको पनि सोध्न विर्सनुभएछ। सैनिकले आफ्नो जीउ सुकाएछन्, न्यानो भएछन् अनि बाटो लागेछन्। धन्यवाद दिन गएका मुसलमानहरूले उनलाई यत्रतत्र खोजे तर भेटेनन्।

अब अर्को कथा। त्यो जीर्ण भएको मस्जिद बर्षौँदेखि ढल्न लागेको हुँदा नयाँ बनाउनु पर्ने अवस्था थियो। तर त्यसका लागि चाहिने पैसा थिएन। अन्ततः गाउँलेहरूले मस्जिद निर्माणका लागि चाहिने सामग्री किन्न पुग्दो रकम जम्मा गरे र निर्माणको काममा सहयोग गर्न गाउँका हरेक व्यक्तिलाई अनुरोध गरे। सबै खाले मानिसहरूः युक्रेनीहरू, बेलारूसीहरू र अरू छिमेकी देशका मानिसहरूसमेतले त्यो अनुरोध सहर्ष स्वीकार गरे। को कुन राष्ट्रको व्यक्ति हो भनेर कसैले खोजी, चियोचर्चो गरेन।

मस्जिद बनाउन थुप्रै रमक दान गर्ने भाषिस् नाम गरेका व्यक्तिलाई गाउँलेहरूले नयाँ बनेको मस्जिदको नाउँ राख्न अनुरोध गरे। भाषिस्‍ले आफ्नी आमाको नामबाट मस्जिदको नाम रसिदा राखे, र त्यसलाई गाउँभरिका सबै आमाहरूका लागि उपहार भनि समर्पण गरे।

धेरैले त्यो मस्जिदलाई अलग…अलग राष्ट्रका मानिसहरूले एकअर्कालाई गरेको सहयोगको प्रतिमुर्ति मान्छन्, र मानिसहरूको एकअर्कामाथिको विश्वासलाई सम्मान गरेको रूपमा लिन्छन्।

अरू कतिले यसलाई कामी दाइ इसमेलको स्मृतिस्थल मान्दछन् र एकजना रसियाली क्रिश्चियन सैनिकको पराक्रमको प्रतिक ठान्छन्।

मैले फेरि एकपटक अखमतको घरमा हामी बसेको कोठाभित्र आँखा डुलाएँ। बाहिर झलमल्ल लागेको घामको किरण पोखिएर त्यो दामी मस्जिदको फोटो इन्द्रेणी रंगमा जगमगाइरहेको थियो।