छिमेकीहरू

लेखकः सइद खमजात नन्युभ, चेचेन्या 

नेपाली अनुवादः सुभाष चन्द्र

Lisa Enghelhardt, age 14
Artur Umarov, age 14 pencil

सैपुदिनले रसियाली विद्यार्थी युवती स्भेत्लाना भिक्टोरोभ्नालाई कहिल्यै मन पराएनन्। “उनले हामी चेचेनहरूलाई मन पराउँदिनन्,” सैपुदिनले धेरै पटक भनेका छन्। “विगत दश वर्षमा उनले हामीसँग एकपटक पनि नुन, सलाई वा हतौडा कुनै पनि कुरा मागेकी छैनन्। किन कहिल्यै नमागेको? उनी त एक अपरिचित जस्ती छिन्।”

ग्रोज्नीका सडकहरूमा सयौँ युद्ध ट्याङ्कहरू देखा पर्दा पनि यो वहुराष्ट्रिय शहर एक दिन धुलोमा परिणत हुनेछ भनेर कसैले पूर्वानुमान गर्न सकेन। सैपुदिन कुनै जोखिम उठाउन चाहँदैनथे। उनीहरू बसेको पाँच तले भवन लडाईं चर्किएको क्षेत्रबाट निक्कै पर थियो; उनीहरूको ठाउँ युद्धबाट खासै प्रभावित थिएन। तै पनि आफ्नी श्रीमती, सोह्र वर्षे छोरो अली, तीन वर्षकी छोरी प्रिनेश्ला र अरू केही छिमेकीहरूसहित सैपुदिन गोदाममा लुकेर बसे। एक साँझ कसैले उनीहरूलाई सुनायो… रसियाली विशेष फौजले चेचेन नागरिक र अर्को छिमेकी देश इङ्गुसेतिया गणतन्त्रका इङ्गुस नागरिकहरूको खोजी गरिरहेको छ। “म यो कुरा विश्वास गर्न सक्दिन,” निक्कै उत्तेजित हुँदै सैपुदिनले भने। तर मानिसहरू भन्दैथिए उनीहरूको बस्तीतिर “सफाया” सुरू भइसक्यो। सबैजना आवास भवनका आ…आफ्ना कोठामा गइ ढोका खुल्लै राखेर त्यहाँ देखा पर्ने विशेष फौजका सेनाहरूलाई भेट्नु पर्छ। नत्र तिनले सबैथोक भताभुङ्ग पारेर जलाइदिन्छन्।

सैपुदिनलाई लाग्यो उनले आफ्नी श्रीमती र छोराछोरीलाई फेरि कहिल्यै भेट्न पाउने छैनन्। त्यति नै बेला उनकी छिमेकी स्भेत्लाना भिक्टोरोभ्ना देखा परिन्। “सैपुदिन, मलाई त एक्लै बस्न डर लाग्यो। तिमीहरू सबैजना माथि जाउँ अनि मसँगै बसौँ न, प्लिज।अली! मलिका! आओ, माथि जाउँ। बहिनी पनि ल्याओ।”

विशेष फौजका सेनाले मध्यरात हुँदानहुँदै हाम्रो भर्‍याङ् चढ्ने ढोका फोरे, र घडप…घडप बुट बजाउँदै भर्‍याङ् उक्लिए।

“तिमीहरूका कागजपत्र निकाल! यहाँ तिमीहरू मध्ये कोही चेचेन वा इङ्गुस नागरिक छ?” कपाल रातो रङ्ग्याएको एकजना कमाण्डर कराए। स्भेत्लाना भिक्टोरोभ्ना अगाडि सरिन्, “हाम्रा सबै कागजपत्र ठिकठाक छन्। वहाँ मेरो श्रीमान्, साशा। अनि बाँकी अरू वहाँकै बहिनी र बालबच्चाहरू।”

“तिमीहरूका काजगपत्र मलाई देखाओ!” सैपुदिन र उनका छोरातर्फ हेर्दै एकजना सिपाही कड्किए।

“यी, यो मेरो पासबुक।” सैपुदिनले आफ्नो पासबुक सिपाहीलाई दिए। 

“ए, चेचेन त रछ न” पासबुक हेर्दै सिपाहीले भने। “तँ मसँग आइज, त्यो बच्चो पनि चेचेन नै हो?” 

स्भेत्लानाले रोकिन्, “तपाईंहरूलाई म मेरो श्रीमान् लिएर जान दिँदै दिन्न, हाम्रो छोरो पनि लान दिन्न। यी मेरा मान्छे हुन्। बरू तपाईंहरू एकछिन् बस्नुहोस् र आराम गर्नुहोस्। ईश्वरको कृपा मानेर, म तपाईंहरूलाई आफूले सक्नेसम्म स्वागत गर्नेछु।” 

स्भेत्लाना बोलिरहिन्, “म यी मेरा मानिसहरूसँगै मर्न तयार छु। यदि तपाईंहरू गोली ठोक्न चाहनुहुन्छ भने पहिलो गोली मलाई ठोक्नुहोस्, म पनि कसरी असल बन्ने र संवेदनशील व्यवहार गर्ने भन्ने कुरा वालवालिकाहरूलाई सिकाउँदै शिक्षकका रूपमा अट्ठाईस् बर्ष विताइसकेकी महिला हुँ।”

“ल ल, ठिक छ, तँ जीउँदै रहने भइस्,” आफ्नो बन्दुकको नाल भुईंतिर झार्दै कमाण्डरले भने, “हिँड केटा हो, जाउँ।”

दुई वर्ष बिते, ग्रोज्नी चेचेनहरूकै हातमा फर्कियो। एक रात, सैपुदिनले आफ्नी श्रीमतीलाई उठाए। “सुन! स्भेत्लानाको कोठाबाट ठूल्ठलो स्वले कराएको आवाज आउँदैछ। हिँड जाउँ बुझौँ, के भएको रहेछ।” आवाज झन् बढ्दै गयो, कोही हतास तरिकाले रोएको पनि सुनिन थाल्यो। सैपुदिन हतारिंदै छिमेकीको कोठाभित्र छिरे। मास्क लगाएका दुईजना पुरूषहरूले स्भेत्लानालाई भुँईंमा लडाएका थिए र हात पछाडि लगेर बाँध्दैथिए। तेस्रो पुरूष हातमा बन्दुक लिएर ढोकामा उभिएको थियो। सैपुदिनले बुझिहाले, ती लुटेरा थिए। 

“उनलाई तुरून्तै छोडिहाल। तिमीहरूलाई लाजशरम छैन? इश्वरको डर छैन?” सैपुदिन कराए। 

बन्दुक लिएर ढोकामा उभिएको व्यक्तिले सैपुदिनको टाउकोमा निसाना ताक्यो। अली र मलिका कुद्देर ढोकामा नपुगेका भए त्यसले गोली चलाउने रहेछ। सैपुदिन, अलि र मलिका भएर स्भेत्लानालाई लुटेराका चंगुलबाट छुटाए। यति हुँदै गर्दा अरू छिमेकीहरू पनि त्यहाँ देखा परे। तीनै जना लुटेराहरू ढोकातिर कुदे, तर कुद्दै गर्दा एकजना लुटेराले सैपुदिनलाई ताकेर एउटा गोली चलायो। 

एक महिना पछि सैपुदिन अस्पतालबाट घर फर्किए। उनी, उनको परिवार र स्भेत्लानाले अरू आफन्तसँग हिमालतिर वा सानिमाका घर गएर गर्मी विदा सँगै मनाउने निर्णय गरे। 

हृदय खुला राखेसम्म हामीले जहाँसुकै ठाउँ र माया पाउँछौँ।