चाँदीका मैनबत्तीहरू

नेपाली अनुवादः सुभाष चन्द्र

Malika Saiyeva, age 19, white etching in black paint

Unknown ink

Victoria Kuznetsova, age 14 tempera

Unknown ink

यो सन् १८५५ तिरको कुरा हो। चार्ल्स फ्र्याङ्कोइस् बेइनभेनु मेरिलले करिब ५० बर्षदेखि डिग्ने गाउँको पादरीका रूपमा एउटा सरल जीवन विताइरहेका थिए। आवश्यकतामा परेका, विरामी र पीडितहरूलाई उनले सधैँ सहयोग गरे। गाउँमा कसैलाई साह्रो…गाह्रो पर्दा मानिसहरू सहयोग पाउने आशमा तिनै पादरीका घर पुग्थे।

अक्टोबर महिनामा, घाम अस्ताउनुभन्दा एकघण्टा अघि, एकजना पैदल यात्री डिग्ने आइपुगे। उनलाई गाउँमा कसैले पनि आफ्नो घरमा छिर्न दिएनन् तर एकजना बृद्ध महिलाले उनलाई तिनै पादरीको घरतिरको बाटो देखाइदिइन्।पैदल यात्रीले पादरीको घरको ढोका ढकढक्याए। भित्रबाट पादरीले भने, “भित्रै आउनुहोस्।” ती यात्रीले ठूलो स्वरमा भने, “मेरो नाम जेन भालजीन हो। म १९ बर्ष देखि बन्दी जीवन विताइरहेको छु। मलाई बन्दीगृहबाट चार दिनका लागि बाहिर निस्कन दिइएको छ। म धेरै थाकेको छु र अति नै भोक लागेको छ।” 

पादरीले घरमा काम गर्नेलाई अह्राए, “एउटा ओछ्यान तयार पार्नु, सफा तन्ना ओछ्याउनु।” अनि जेन तिर फर्किएर पादरीले भने, “सर, आरामले बस्नुहोस् र जीउ न्यानो पार्नुहोस्, बेलुकको खाना खाने खाने बेला हुनै लाग्यो। खाना खाइसक्दा तपाईंको ओछ्यान पनि तयार हुनेछ।”

पादरीले हरेक पटक सर भनेर सम्बोधन गर्दा जेनको अनुहार उज्यालिन्थ्यो। एकजना बन्दीलाई सर भनेर सम्बोधन गर्नु तिर्खाले हुरूक्क हुन लागेको व्यक्तिलाई एक गिलास पानी दिनु सरह हो। 

“फादर”, जेनले पादरीलाई भने, “तपाईं साँच्चै दयालु हुनुहुँदोरहेछ। तपाईंले मलाई तिरस्कार गर्नुभएन। म कहाँबाट आएको हुँ, कस्तो खराब गरिब व्यक्ति हुँ भन्ने थाहा पाउँदा पाउँदै पनि मलाई एउटा मित्रका रूपमा स्वीकार गर्नुभयो र तपाईंका सुन्दर मैनबत्तीहरू मेरा निम्ती बालिदिनुभयो।” पादरीले भने, “यो घरमा एकजना व्यक्ति मात्रै छः त्यस्तो व्यक्ति जसलाई आश्रयको आवश्यकता छ।”

खाना खाइसकेपछि पादरीले एउटा चाँदीको मैनबत्ती आफूले लिए र अर्को एउटा जेनलाई दिए। “आउनुहोस् सर, म तपाईंलाई सुत्ने कोठा देखाइदिन्छु,” उनले भने। जेन पादरीलाई पछ्याउन थाले। 

“मलाई आशा छ तपाईं आरामले गहिरो निन्द्रा सुत्नुहुनेछ,” पादरीले भने।

“धन्यवाद फादर,” जेनले भने।

चर्चमा राती दुईबजेको घण्टी बज्दा जेन निन्द्राबाट ब्युँझिए। उनले बेलुका खाना खाँदा चाँदीका काँटा र चम्चाहरू अनि एउटा गज्जवको पन्युँ देखेका थिए, र ती सामान कामदारले पादरीको कोठाको दराजमा थन्क्याएको पनि ख्याल गरेका थिए। जेन सास दवाएर उठे र चाल मारेर पादरी सुतिरहेको कोठातिर लम्किए।

पादरी सुतेको खाटछेउबाट जेन छिट्टोछिट्टो अघि बढे। दराजको ढोका खोले र चाँदीका सबै सामान राखिएको ढाकी टिपे। ढाकीमा राखिएका सामानलाई एउटा कपडाको टुक्रामा पोको पारे, बुर्लुक्क उफ्रिएर बगैँचामा पुगे, ढाकी फ्याँकिदिए र बाघले जस्तै पादरीको घरको पर्खाले नाघेर बाटो लागे। 

भोलिपल्ट विहान घरकी कामदार आत्तिँदै, कराउँदै, कुद्दै पादरी भएठाउँ आइन्। “सर! सर!” उनले चिच्याउँदै सोधिन्, “चाँदीको ढाकी कहाँ छ, हजुरलाई थाहा छ?” “थाहा छ,” पादरीले भने। उनले फुलबारीमा फालिएको ढाकी भरखरै टिपेर ल्याएका थिए। त्यो ढाकी कामदारलाई दिए। “अनि यसमा त केही छैन त!” कामदारले छक्क पर्दै सोधिन्, “चाँदीका सामान कहाँ छन्?”

“ए!” पादरीले भने, “खै, कहाँ छन् मलाई थाहा भएन।”

“हे प्रभु। सामान त त्यो हिजो राती बास बसेको मान्छेले चोरेर लग्यो क्यार…!”

पादरी केही क्षण मौन रहे, गंभीर भावमा कामदारलाई हेरे र मृदुतापूर्वक भने, “खैर, के त्यो चाँदी साँच्चै हाम्रै थियो त?” अलिबेर पछि, पादरी र कामदारले विहानको नास्ता सक्नै लाग्दा, ढोकामा कसैले ढक्…ढक् गरेको आवाज आयो। ढोका खुल्यो, त्यहाँ तीनजना प्रहरी जेन भालजीनलाई अँठ्याएर दलिनमा उभिएका थिए। एकजना प्रहरी पादरी बसे ठाउँमा गए। “पादरी, मेरो भगवान्” उनले भने। 

जेन निलो कालो भयो। “पादरी?” उ बर्बरायो। “उसो भए उहाँ सामान्य स्थानीय पुजारी मात्रै होइन?”

“चुप लाग्!” एकजना प्रहरीले जेनलाई भने, “यी भलाद्मी व्यक्ति ठूला पादरी हुन्।”

त्यसैक्षण, पादरी अघि सरे, “ओहो, तिमी पो!” जेनलाई हेर्दै उनले भने,। “तिमीलाई फेरि भेटेर खुशी लाग्यो। मैले तिमीलाई मैनबत्तीहरू पनि दिएको थिएँ।” जेनले पादरीलाई यस्तो तरिकाले हेरे जसलाई कुनै भाषाले व्याख्या गर्न सक्दैन।

“त्यसोभए,” प्रहरी हवल्दारले भने, “के यो मान्छेले हामीलाई भनेको साँचो हो?”

पादरी मुस्कुराए, “उनले तपाईंहरूलाई हिजो बेलुका खाना र ओछ्यान दिने एकजना बुढो पुजारीले यी सामान दिएका हुन् भने, होइन त?”  प्रहरीले जेनलाई आफ्नो हातबाट छोडिदिए, उनी पछिल्तिर लड्खडाए। “मित्र,” पादरीले थपे, “तिमी यहाँबाट जानुअघि तिम्रा मैनबत्तीहरू लैजान नविर्सिनु।” पादरीले चुल्हामाथि तख्तामा राखिएका दुईवटा मैनबत्ती ल्याएर जेन भालजीनलाई दिए। “लु अब शान्तिपूर्वक जाऊ,” पादरीले भने। अनि प्रहरीतर्फ फर्किएर उनले भने, “महाशय, अब तपाईंहरू पनि बिदा हुनुभए हुन्छ।” प्रहरीहरू त्यहाँबाट फिर्ता भए।

पादरीले मृदुआवाजमा जेनलाई भने, “यी सामान बेचेर आउने पैसा एउटा इमान्दार व्यक्ति बन्न प्रयोग गर्नेछु भनेर मसँग गरेको बाचा कहिल्यै नबिर्सनु नि।”