खाटमुनीको बुटजुत्ता

लेखकः मेरी एन्जल लौजर, बेलायत

नेपाली अनुवादः सुभाष चन्द्र

Alicia Reichman, age 10 pencil

Alicia Reichman, age 10 pencil

Alicia Reichman, age 10 pencil

ऊनीको बाक्लो जामा र ओढ्ने हुँदाहुँदै पनि चिसो सिरेटोले हानिरहने ब्रिस्टोल महिला बन्दीगृहमा समय विताउनु पर्दा एलिजाबेथ फ्राइ जाडोका कारण प्रायः कठ्याङग्रिएकी हुन्थिन्। “जस्तोसुकै अपराध गरेको भए पनि यो ठाउँ कसैका लागि उपयुक्त छैन! अझ यी विचरा बच्चाहरू! यीनका हात र दिमाग व्यस्त राख्न मैले के पो गर्ने होला?”  पुरानो ढुङ्गे घरको घुमाउरो भर्‍याङ चढ्दै गर्दा एलिजाबेथ यस्तो सोच्दै थिइन्। 

ढोका खोलेर कोठाभित्र पसेपछि त्यहाँको अवस्था देख्दा उनलाई अनौठो महसुस भयो। लुगा राख्ने दराजको ढोका आधा खुल्लै थियो र एउटा मैनबत्ती उभिण्डो परेको थियो। खाटमुनी एकजोर पुरूषले लगाउने बुटजुत्ता प्रष्ट देखिइरहेको थियो।  

उनले लामो सास फेरिन्। अब के गर्ने होला? दराजको ढोका विस्तारै लगाएर उभिण्डो परेको मैनबत्ती उठाउँदै गर्दा उनी एउटा निर्णयमा पुगिन्। खाटमुनी कसैले सास फेरेको आवाज सुनेपछि उनी बुटजुत्ताको छेवैमा घुँडा टेकेर निहुरिइन्। “हे भगवान,” उनी प्रार्थना गर्न थालिन्, “कृपया यो मान्छेलाई क्षमा दिनुहोस्। हजुरको असलपन यो मान्छेको हृदयमा पसोस् र उसका अगाडिका बाटाहरू सहज बनाउन मद्दत पुगोस्।” उनको आवाज करूणाले भरिएको थियो। यत्तिकैमा बुटजुत्ता चलमलायो। “यो मान्छे अन्योलमा छ र चोर्ने बानी छोड्न हजुरको मार्गदर्शन आवश्यक छ,” उनले प्रार्थना टुङ्ग्याइन्।

त्यो मान्छे खाटमुनीबाट घिस्रिँदै बाहिर निस्कियो। ऊ दुब्लो थियो र झुस्स दारी पलाएका थिए। “तपाईं किन मेरो लागि प्रार्थना गर्दैहुनुहुन्छ?” अलि मसिनो र असहज स्वरमा उसले सोध्यो, “तपाईं किन गेटपालेलाई बोलाएर यो सबै निम्ट्याउनुहुन्न?”  

“म केबल ईश्वरलाई बोलाउनेछु,” एलिजाबेथले भनिन्। आफू अझै डराएकै भएता पनि उनले त्यो व्यक्तिलाई दयालु दृष्टिले नै हेरिन्। “तिमी मेरो कोठामा आउनुको केही कारण त पक्कै होला!” उनले यसो भनेको सुनिरहँदा उसका कुम निहुरिएका थिए। “के मलाई भन्न सक्छौ?” उनले सोधिन्। उ मौन नै रह्यो। एलिजाबेथ उत्तर पर्खेर बसिन्। 

“म धेरैदिन देखि भोकै छु, हजुर” अन्ततः उसले भन्यो। “अरूले फ्याँकेका खानेकुरा भेला गरेर खाइहेरेँ तर त्यो पुग्दो थिएन। मलाई भरपेट राम्रो खाना खाने र एउटा न्यानो कोट किन्ने पैसा चाहिएको छ।”

“मलाई खुशी लाग्यो तिमी मेरो कोठामा आइपुग्यौ,” एलिजाबेथले भनिन्। 

त्यो मान्छेले चकित परेर एलिजाबेथलाई हेर्‍यो। उसलाई आजसम्म कसैले यति दयालु व्यवहार गरेको थिएन, घोप्टो परेर ढाडमा टेक्न दिइ बग्गीमा चढ्ने पाउदान बनिदिँदा पनि। एलिजाबेथले दराजबाट एउटा घच्चीको स्वीटर झिकिन्। “यो मेरो श्रीमान्‌को थियो,” उनले भनिन्। “मेरो विचारमा यो तिमीलाई ठिक हुन्छ। यो लगाउ अनि तल हिँड खाना खान जाउँ।”

“तपाईंले मलाई धेरै राम्रो व्यवहार गर्दैहुनुहुन्छ,” उनले भने। “तपाईंले मलाई जेलमा जाक्न पनि सक्नुहुन्थ्यो… कि पठाउँदै हुनुहुन्छ?” यसो भन्दै उसले आँखा ठूला पारेर झ्याल बाहिर हेर्‍यो। 

“अहँ,” उनले भनिन्। “मलाई जेलको हालतबारे यति धेरै थाहा छ कि म कसैलाई पनि त्यहाँ पठाउन सक्दिन।” उसको अनुहारमा संकोच देखेर उनले थपिन्, “हिँड, खाना खाँदै कुरा गरौँला।”

उसिनेको मासु र आलु खाँदै गर्दा एलिजाबेथले जेलमा आफूले गरिरहेको कामबारे उसलाई बताइन् र उसले पनि आफ्ना समस्याहरू सुनायो। ऋण तिर्न नसकेका कारण ऊ पहिलो पटक जेल जानु परेको रहेछ, त्यसपछि चोरी मुद्दामा र अर्को एकपटक झुटो आरोप लगाए वापत। जेलबाट छुटेपछि उसले काम पाउन सकेनछ। उसका लुगा मैला भएर फाटिसकेछन् र त्यस्तो हालतमा देखेपछि कसैले केही कुरामा पत्याउँदो रहेनछ। उसलाई जेलबाट बाहिरै बस्न यति धेरै मन रहेछ कि ऊ एलिजाबेथको कोठामा आइपुग्नु अघि भोकले झण्डै…झण्डै उसको प्राणै जान लागेको रहेछ। एलिजाबेथले जेलमा महिलाहरूबाट यस्तै खालका अरू कथा पनि थुप्रै सुनेकी थिइन्।

एलिजाबेथले आफ्नो व्यवहारिक बानी अनुसार त्यो मान्छेलाई सावुन र सफा कपडाहरू दिइन् , अनि काम खोज्न सघाइन्। आफ्नो शरीरमा शक्ति र हृदयमा आशा लिएर ऊ त्यहाँबाट गयो। एलिजाबेथले डरको सट्टा प्रेमले यस्तो स्थिति पार लगाउन सकेकोमा एलिजाबेथले एउटा गहिरो शान्ति र कृतज्ञता महसुस गरिन्।