क्षमाको जादुमयी शक्ति

नेपाली अनुवादः सुभाष चन्द्र

Jen Han, age 17, USA

Joe Golling, USA

गुप्तचर ल्याण्ड्री यी डरलाग्दा शब्दहरू बोलिरहँदा विनम्र सुनिन्थे, “माफ गर्नुहोस्, तपाईंकी छोरी क्याथरिन मारिइन्। चक्कु प्रहार गरेर उनको हत्या भएछ।”

मेरो मुटु छियाछिया भयो। दिमागले सोच्न सकेन। कुनै कुरा पत्याइसक्नु थिएन। विहान ओछ्यानबाट उठ्दा यो दुःस्वप्न पक्कै गायव हुनेछ भन्ने ठानेँ। थप विक्षिप्त हुने डरले मैले कसैको अंकमाल स्वीकार गर्न सकिन। कसैले सुन्ला भन्ने त्रासले रून सकिन। बाथरूममा धारो खोलेर त्यस मुनि उभिएर म चिच्याएँ, चिच्याइरहेँ। मानिसहरू सोच्थे म ठिकै छु, तर मभित्र एउटा गहिरो, अँध्यारो क्रोध उम्लिरहेको थियो। मेरो दिमागमा चलिरहेको एक मात्र कुरा मेरी प्यारी छोरीको हत्याको बदला मात्रै थियो। 

डगलस मिक्की पक्राउ परेको थियो, अदालतमा वहस सकिएर दोषी प्रमाणित भइसकेको थियो, र आजीवन जेल सजाय पाएको थियो। मानिसहरू भन्थे… त्यो दुष्टलाई जेलमा कोचेपछि म फेरि ठिक हुनेछु। अरू खासै केही नबुझेकी हुनाले मैले मान्छेका कुरा पत्याएँ। त्यसैले म आफू सबै किसिमले ठिक हुने दिन पर्खिएर र डगलसप्रति घृणा पालेर बसेँ।

त्यसरी आठ वर्ष अन्धकारमा बसेपछि, मैले आरोग्यता (healing) र शान्ति प्राप्त गर्नेतर्फ पहिलो कदम चालेँ। एउटा ध्यान…साधना विधिको अभ्यासबाट मैले दिमाग शान्त पार्न सिकेँ र मनलाई वर्तमानमा अड्याउन सक्ने भएँ। आमालाई चर्च लिएर जान थालेँ। यसरी विस्तारै मैले मेरो वास्तविक परिचय मात्र प्राप्त गरिन, म भित्र रहेको ईश्वरको प्रतिविम्ब पनि महसुस गरेँ। मलाई आफू ईश्वरको प्रिय व्यक्ति भएको ज्ञान भयो।  

मैले यहुदी नरसंहारबाट बचेका एक व्यक्तिको अन्तर्वार्ता हेरेँ। उनले सबै जर्मनलाई मात्र क्षमा दिएनन्, त्यो सुरक्षा गार्ड जसले उनको परिवारका सबै सदस्यलाई मारेको थियो उसलाई पनि क्षमा दिए। उनको क्षमादानको बयान सुनेपछि मभित्र केही कुरा स्पष्ट भएर आयो। मलाई लाग्यो… सायद मैले क्याथरिनको हत्यारालाई माफ गर्न सक्छु। 

तिम्रो चाहनाबारे त्यो हत्यारालाई थाहा देऊ भनेर मलाई एक साँझ एकजना मित्रले सुझाव दिए। उनको कुरा सुनेर म रिसले आगो भएँ! अहँ हुँदैन, म किन त्योसँग कुरा गर्नु। यो म र ईश्वरबीचको कुरा हो। 

तर गाडी हाँकेर घर फर्कँदै गर्दा मैले आफूभित्रबाट एउटा आवाज सुनेँ, “तिमीले उसलाई क्षमा दिनै पर्छ र त्यो कुरा उसलाई थाहा दिनुपर्छ।” त्यो आवाज यति बुलन्द र चित्त बुझाउने खालको थियो कि म रातभर सुत्नै सकिन। विहानको चार बजे म क्याथरिनको हत्यारालाई पठाउन भनेर एउटा ईमेल लेखिरहेकी थिएँ। 

इमेल पठाइसकेर कम्युटर बन्दा गर्दा मेरो मेरूदण्डतिर कामज्वरो कुदेको महसुस भइरहेको थियो।  रिस, क्रोध र बदला सबैथोकको भोक गायव भएका थिए। त्यसको ठाउँमा अत्यन्त सुखद् आनन्द र शान्ति महसुस भइरहेको थियो। त्यस पवित्र क्षणमा मलाई बोध भयो… मेरो आरोग्य (healing) प्राप्तिका लागि कसैलाई झुण्ड्याइनु आवश्यक छैन। क्षमा दिने जस्तो सरल कार्यले मलाई आरोग्यता दिएको थियो। 

मेरो इमेलको एउटा भद्र र करूणायुक्त उत्तर आएको देखेर म छक्क परेँ। डगलसले आफ्नो अपराधका लागि दुःख व्यक्त गरेको रहेछ। मेरा यी शब्द कति खोक्रा लाग्न सक्छन् भन्ने कुरा म बुझ्छु पनि भनेको रहेछ। उसले लेखेको थियो, “गेली, तपाईंले पठाएको चिट्ठी मेरा लागि कति मूल्यवान छ म कदापि शब्दमा व्याख्या गर्न सक्दिन। मैले तपाईं माथी त्यस्तो पीडा थोपरेको कुरा स्वीकार गर्नुपर्दाको बोझ मेरो मन र दिमागले थाम्न सक्दैनथे। तपाईंको क्षमादानको चिट्ठीले मलाई त्यो बोझ र पीडाबाट मुक्ति दिएको छ। तपाईंले क्याथरिनको मृत्यु सामना गर्न सक्नुभयो अनि प्रेम र विवेकको नयाँ मूल पहिल्याउनुभयो भन्ने थाहा पाउँदा मलाई अति खुशी लागेको छ र मेरो आत्मामा जमेको वेदनालाई निकास दिएको छ। यदि कुनै तरिकाले त्यो डरलाग्दो रातलाई परिवर्तन गर्न सकिने भए म त्यसका लागि खुशी साथ यसै क्षण आफ्नो ज्यान दिन तयार छु।” मलाई महसुस भयो, जुन दिन क्याथरिनले आफ्नो जीवन गुमाइन् त्यसै दिन डगलसले आफ्नो भविष्य पनि गुमाएको थियो।