क्षमाः ईश्वरीय गूण

लेखकः यूसुफ बशीर, प्यालेस्टाइन

नेपाली अनुवादः सुभाष चन्द्र

Trev Wong

म एक प्यालेस्टाइनीका रूपमा मेरो परिवारसँग गाजास्थित देर अल…बलाहमा मा हुर्किएँ, जुन काफर दारम नामक इजरायली वस्ती नजिकै पर्छ। हुर्किँदै गर्दा मैले राजनीति वा गरिबीको कुनै गन्ध पाइन। म एक चर्चित फुटबल खेलाडी बन्ने सपना बोकेर खेलकुदमै रमाउँथेँ।

तर सन् २००० को एक दिन एम…१६ हतियार बोकेका इजारायली सेनाले हामीलाई हाम्रो घर छोड्न भने। हामीले सोध्यौँ, “किन? हामीले कुनै गल्ती गरेका छैनौँ!” आमा छिमकीहरूसँगै तत्काल गाउँ छाड्न चाहनुहुन्थ्यो। तर बुवाले भन्नुभयो, “चाहे जेसुकै होस्, म त परिवारको घर रूँगेर यतै बस्छु।”

इजरायली सेना हामी बसेको घरको दोस्रो र तेस्रो तलामा चढे जसलाई उनीहरू ‘एरिया ग’ भन्थे। त्यहाँ छिर्न इजरायली सैनिकहरूलाई मात्र अनुमति थियो। उनीहरूले हाम्रो घरको छतलाई लुक्न मिल्ने जाली, काँडेतार र बन्दुकहरूले छपक्कै ढाके। बैठक कोठालाई ‘एरिया क’ भनिन्थ्यो, जहाँ राती हामी सात जना सुत्थ्यौँ। त्यस ठाउँमा हामी प्यालेस्टाइनीहरूको शक्ति त चल्थ्यो, तर हामी त्यसलाई जेल भन्थ्यौँ। भान्सा, बाथरूम र सुत्ने कोठाहरू ‘एरिया ख’ मा पर्थे र ती ठाउँमा प्यालेस्टाइनीहरू आउजाउ गर्न चैँ सक्थे, तर त्यहाँको सुरक्षा इजराइलीहरूको नियन्त्रणमा थियो। हामीले भान्सामा जान सैनिकसँग अनुमति लिनु पर्थ्यो, र बाथरूम जाँदा एकजना सैनिक हामीसँगै आउँथे।

हामीले यस्ता पाँच वर्ष किन र कसरी वितायौँ मलाई थाहा छैन। सायद घरको मायाले, वा हामी सबै मानव हौँ भन्ने कुरामा विश्वास भएकाले। मेरो बुवा भन्नुहुन्थ्यो, “प्यालेस्टाइनी र इजरायली दुवै अब्राहमका सन्तान हुन् र उनीहरू सबैलाई शान्तिको अधिकार छ।” तर म त्यो कुरामा खासै विश्वस्त थिइँन।

एकपटक हामीलाई भेट्न आएका संयुक्त राष्ट्र संघका मान्छेहरूलाई हात हल्लाएर विदा गर्दैगर्दा मैले मेरो ढाडमा केही छिरेको महसुस गरेँ। त्यो अनौठो अनुभुति थियो। शुरूमा त दुखेन। म भुईंमा ढलेर डल्लो परेँ। मेरा बुवाले मलाई दुवै हातले कसेर अँगालो हाल्नुभयो। त्यसपछि त दुखाइ यति बढेर आयो कि मैले शहादत बर्रबराउन थालेँ। ती शब्द हामी मुसलमानहरूले मर्नेबेला प्रयोग गर्छौँ।

तर मेरा बुवाले भन्नुभयो, “तिमी मर्दैनौ।” वहाँ त्यस्तै हुनुहुन्छ। कहिल्यै हार मान्नुहुन्न।

म बेहोस भएँ र पछि स्लाइन चढाइरहेको अवस्थामा एक प्यालेस्टाइनी अस्पतालमा ब्युँझिएँ। मेरो बुरा मलाई हेरेर मुस्कुराउनुभयो। वहाँले भनेअनुसार उनीहरूले मलाई मेरो ढाडमा गोली हाने, र गोली मेरो मेरूदण्डमा अड्केको हुनाले शल्यक्रिया गर्नु निकै खतरा छ। “तर तिमी ठिक हुनेछौ,” वहाँले भन्नुभयो।

म पन्ध्र वर्षको थिएँ र मेरा खुट्टा चलाउन सकिरहेको थिइन। मैले सोधेँ, “के म हिँड्न सक्ने हुन्छु?”

बुवाले भन्नुभयो, “ईश्वरको इच्छा भयो भने। डाक्टरहरूले जानेजति, सकेजति सबैथोक गर्दैछन्।” म यति निराश भएँ कि म बोल्नै छाडेँ।

त्यसपछि म एउटा नयाँ अस्पताल गएँ। त्यहाँका नर्स र डाक्टरहरू हिब्रु भाषा बोल्थे। मेरो बुवा एकजना इजरायली नर्ससँग हुनुहुन्थ्यो जो मेरी आमा जस्तै दयालु पाराले बोल्थिन्। एकजना इजरायली मलाई हेरेर मुस्कुराएको वा एकजना गैरसैनिक इजरायली देखेको मेरा लागि यो नै पहिलोपटक थियो। त्यसपछिका केही महिना मलाई जाँच्न आउने डाक्टर र नर्सहरू मलाई हेरेर मुस्कुराए, ख्यालठट्टा गरे र म प्रति दयालू व्यवहार देखाए। के इजरायलीहरू साँच्चै मानव हुन सक्छन्? मेरा आमाबुवा गाजा फर्किएपछि मलाई न्यास्रो लाग्यो र एक्लै हुन्छु भन्ने कुराले वेचैन भएको थिएँ।

शुरूमा अस्पतालमा मसँग एउटै कोठमा बस्ने इजरायलीहरूले मसँग बस्नुपरेकोमा खासै खुशी मानेनन्। तर जब उनीहरूले मेरो कथा सुने र म एक्लै भएको देखे, उनीहरू मप्रति विनम्र भए। मलाई उपहारहरू दिए र आवश्यक पर्ने अरू थुप्रै कुराहरू ल्याइदिए।

आफ्नो स्वास्थ्य पुरानै हालतमा फर्काउन संघर्ष गरिरहँदा मैले बुवासँग थुप्रै लामा कुराकानीहरू गरेँ र सोधेँ… किन यति धेरै मानिस घाइते भइरहेका छन्, मरिरहेका छन्, र क्षमादान सम्भव छ कि छैन? विस्तारै मेरो धारणा परिवर्तन भयो। एकजना इजरायलीले मलाई गोली हाने, तर थुप्रै इजरायलीहरूले मेरो जीवन बचाए। मेरा बुवाआमाले भनेका कुरा सत्य थिए। इजरायलीहरू पनि मान्छे हुन्, र मैले पनि आफू मानव भएको महसुस गरेँ। म यो संसारलाई थप शान्तिपूर्ण बनाउन चाहन्थेँ।

डाक्टरहरूले मेरो ढाडबाट गोली निकाल्न सकेनन् तर अहिले म राम्ररी हिँड्न सक्छु। र मैले एउटा शान्तिकर्मी बन्ने मौका पनि पाएँ। एकपटक गर्मी याममा अमेरिकामा शान्तिका बीज कार्यक्रममा सहभागी भएँ जहाँ इजरायली र प्यालेस्टाइनी युवायुवतीहरू भेला भएर एकअर्कासँग कुराकानी गर्छन् र साथी बनाउँछन्। त्यसपछि मैले कसैको पक्ष लिन चाहिन। मेरा परिवार र साथीहरूले मलाई देशद्रोहीसम्म भने, तर मेरा बुवाआमाले मलाई सधैँ साथ दिनुभयो। मैले थाहा पाएँ “गल्ती गर्नु मानवीय स्वभाव हो, क्षमा गर्नु ईश्वरीय गूण।”

मेरो घरमा बसेको एकजना इजरायली सैनिकले मेरो कथामा चासो राखे। मैले उनलाई भनेँ… म एक शान्तिकर्मी बन्न चाहन्थेँ। मैले उनलाई शान्तिका बीज को परामर्शदाता बन्न सुझाव दिएँ र शान्तिका बीजको एउटा टिसर्ट दिएँ। उनले मुस्कुराउँदै भने… मैले अनिवार्य गर्नुपर्नु सैनिक सेवा सकिएपछि म यो टिसर्ट लगाउनेछु।