एकदिन राती एउटा फोन आयो, “के तपाईं ग्वाटेमालाबाट भागेर आएका दुई परिवारलाई आश्रय दिन सक्नुहुन्छ? उनीहरू मेक्सिकोमा फँसेका छन्। पुग्दो खान पाइरहेका छैनन् भनेर हामी चिन्तित छौँ। सीमा पार गरेर यता (अमेरिका) आएपछि उनीहरूलाई कसै न कसैले त सहयोग गर्नै पर्छ।”
मध्यअमेरिकामा व्यापक हिंसा भइरहेको छ र त्यहाँका सरकारहरूले गरिरहेका पक्राउ तथा दिइरहेका यातनाबाट जोगिन हजारौँ नागरिक देश छोडेर भागिरहेको कुराबारे हाम्रो क्वेकर समूह जानकार थियो। यता हामी अमेरिकामा न्यानो, आरामदायी ओछ्यानमा सुत्थ्यौँ र हरेक विहान सुरक्षित महसुस गर्दै उठ्ठथ्यौँ। यस्तो सुरक्षानुभूति अरूले जस्तै हामी पनि शरणार्थीहरूसँग बाँड्न चाहन्थ्यौँ।
“हाम्रा कदमले सरकारी कानुनहरू भंग हुन सक्छन्, तर हामीले समस्यामा परेका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने ईश्वरको कानुनको पालना गरेको हुनेछ,” एकजना मित्रले टिप्पणी गरे। “हाम्रो संख्या थोरै छ, र हामी धनी पनि छैनौँ। तर के ईश्वरले हामीलाई आफूसँग भएका कुरा बाँडचुँड गर्न सिकाएका छैनन्?” अर्को एकजनाले प्रश्न गरे। एकजना बृद्ध महिलाले तर्क गरिन्, “यदि हामीले यो काम गरौँ भन्ने परमात्माको इच्छा छ भने, बाटो आफैँ खुल्नेछ। मलाई लाग्छ हामी अघि बढ्नु पर्छ।” हामी आश्रयस्थल बन्यौँ।
जब मलाई त्यो फोन आयो, तब हामी नयाँ दुईवटा शरणार्थी परिवारको ख्याल राख्न तयार छौँ कि छैनौँ भनेर म घोत्लिएँ। तिनलाई सीमा पार गर्न सहयोग गर्न हजारौँ माइल यात्रा गरेर को आउला? मान्छेलाई हाम्रो सहयोग आवश्यक छ तर के यो साँच्चै सम्भव होला त?
एक विहान हाम्रो समूहले मेरा श्रीमान् जोनलाई सीमाक्षेत्रमा जान भन्यो। उनी राम्रो स्पेनिस भाषा बोल्थे र पहिला पनि शरणार्थीहरूका लागि काम गरेका थिए। जोनले आफ्नो परिवार कस्तो छ बुझेका थिए र क्वेकरहरूले सहयोग गर्नेछन् भन्ने कुरा उनलाई थाहा थियो। शरणार्थीहरूलाई परेको खतरा हाम्रा दैनिक जीवनका निजी चुनौती भन्दा धेरै ठूलो थियो। यदि उनीहरू समातिए भने सीमा प्रहरीले तिनलाई जेलमा कोच्नेछ र आफ्नै देश फर्काइदिनेछन्। कार्लोस् सरकार विरूद्ध बोलेकोमा आफ्नो देशमा चार पटक पक्राउ परिसकेका थिए, र मारिनबाट बालबाल बचेका थिए। यदि उनलाई उनकै देश फर्काइयो भने तिनी मारिनेछन्। त्यो बेला उनकी जवान श्रीमती मारिया र बालख छोरी अन्नाको हालत के होला?
सबैले सुरक्षितसाथ सीमा पार गरेको जानकारी गराउन जोनले हामीलाई फोन गरे।
मेक्सिकोमा खानेकुरा पाउन गाह्रो थियो। त्यसैले अन्ना र मारिया दयनीय शारिरीक स्थितिमा थिए; उनीहरू यात्रा गर्न सक्ने अवस्थामा थिएनन्। ग्वाटेमालाको नागरिक भएको हुनाले कार्लोस् काम गर्न पाउँदैनथे। त्यसैले उनीहरूमा सीमा पार गर्ने शारिरीक बल नआउञ्जेल मेक्सिकाली शरणस्थल अभियानले खाना र बासको व्यवस्था गरिदियो। जोन घुमाउरा बाटोहरूमा गाडी कुदाउँदै हाम्रो बैठकस्थल आए। धेरै माइल हिँडेर आफूतिर आइरहेको कार्लोस्को परिवारलाई उनले धेरै घण्टा कुरे। रात छिप्पिँदै गयो र यात्रा गर्न थप डरमर्दो हुँदै आयो।
कार्लोस्ले सानी छोरी अन्नालाई जोनका हातमा राखिदिँदा उनी चिच्याएर रोइन्, जोनका लामा दाह्री पक्डिइन् र जोडले तानिन्। जोन पनि चिच्याउनै खोजेझैँ गर्दैथिए। लगत्तै मारियाले सीमा पार गरिन्। सुरक्षाका कारण कार्लोस् र परिवारका अन्य सदस्यले अर्कै बिन्दुबाट सीमा पार गरे। थकित आमा र बच्चा साथै लिएर जोन गाडी हाँकेर शहर फर्किए। बाटोमा उनले गाडीका हेडलाईटहरू मात्रै देखे। ती मध्ये कुनै पनि गाडी सीमा प्रहरीका हुनसक्थे।
जोन आफैँ त्रसित अवस्थामा भए पनि उनले मारियासँग कुराकानी गर्न कोशिस गरे, तर उनी सानी छोरी अन्नासँगै लुटपुटिइरहिन्। मारिया कति डराइन् होला! अँध्यारामा, विरानो देशमा, एउटा विदेशी पुरुषसँग यात्रा गर्नुपर्दा! शहरमा आफ्नो परिवारसँग पुनर्मिलन भएपछि मात्रै मारियाले जोनलाई हेरेर लजाउँदै मुस्कुराइन्।
अमेरिकाको लामो यात्रामा शरणार्थीहरू हरेक रात नयाँ परिवारकहाँ बास बसे। प्रत्येक परिवारले भोलिपल्टको रात बास बसाउने परिवारलाई फोन गरेर “लामो यात्राका यात्रीहरू हामीकहाँ आइपुगे है” भनेर जानकारी गराउँथे। शरणार्थीहरूले कपडा र खाद्यान्नहरू जम्मा गरे, गाडीमा तेल हाले, र अगाडिको बाटो तय गर्न तयार भए।
यसरी नै, एकदिन दुवै शरणार्थी परिवार हामीले प्रदान गरेको शरणस्थलमा आए। साथीहरूले ठाउँ तयार पारे, सहयोगीहरूको समयतालिका मिलाए, र स्पेनिष भाषा सिके। एक विहान, जोन र म पाँचै बजे उठ्यौँ र उनीहरूलाई लिन पहाडको चुलीतिर गाडी लिएर गयौँ। सबैले नास्ता गर्दैगर्दा हामी त्यहाँ पुग्यौँ। घर फर्किनुअघि हामी खाजाघरको पछाडि बसेर कफी पियौँ, र ती शरणार्थीका फुलजस्ता स…साना नानीहरू पालैपालो बोक्यौँ।
अन्ना अहिले चार वर्षकी भइन्। ती दुवै परिवारले हाम्रो समुदायमा प्रशस्तै आनन्द ल्याए। उनीहरूले हाम्रा बालबच्चाहरूको ख्याल राखे, ग्वाटेवालामा खाइने खानेकुराहरू पकाउन सिकाए, र उनीहरूका संगीत र कविताहरू सुनाए। हाम्रो बैठक…समूहले खबरदारीहरू, प्रार्थनाहरू, र मध्य अमेरिकाबारे सूचनामूलक कार्यक्रमहरू आयोजना गर्यो। यस क्रममा हामीले त्रास, गलत बुझाइ र दुःखका अनुभवहरू पनि गर्यौँ। तर हामीले सँगै काम गर्यौँ, एकअर्कालाई सुन्यौँ, संघर्ष गर्यौँ, र बाटो पनि खुल्दै गयो। हामीले आश्रयस्थलमा एकअर्काको ख्याल राख्ने अभ्यासमा नयाँ सिँढी थप्यौँ।