आशाका बीऊहरू

लेखकः भिक्टर लोजिन्स्की र डेबोरा रस्मुसिन

चेचेन्या/रसियाको परिवेशमा भएको वास्तविक घटना

नेपाली अनुवादः सुभाष चन्द्र

Natasha Ulasevich, age 8, Russia

Hilary Amborn, watercolor

Artur Umarov, age 15

एक समय म चेचेन्या देशको एउटा घरमा बस्थेँ। म बस्न थाल्नुभन्दा पहिला त्यो घर ससाना वालवालिका पढ्ने विद्यालय थियो। त्यो घर सेर्नोभोदस्क रिसोर्ट भएको सामास्की गाउँबाट नजिकै थियो। घर वरिपरिको बगैँचामा अग्ला, काँडैकाँडा भएका खयरका थुप्रै रूखहरू थिए। ती रूखले बगैँचा बाहिरको दृष्य पुरैजसो छेकेका थिए। पछि कहिलेकाहीँ म कल्पना गर्थेँ–त्यो सेर्नोभोदस्क रिसोर्ट अहिले पनि चलिरहेको होला!

तर ती खयरका रूखले सत्य त छेक्न सक्दैनथे! टाउकै माथि पड्किएका बम र गोलाबारूदका आवाजहरूले सबै वास्तविकता प्रष्ट पारिदिए। सन् १९९५ को अप्रिलमा चेचेन्या र रसिया युद्ध लडिरहेका थिए। सेर्नोभोदस्क रिसोर्ट एउटा शरणार्थी शिविर बन्न पुगेको थियो। म एउटा अन्तर्राष्ट्रिय मानवअधिकार पर्यवेक्षक समूहको सदस्य भएको थिएँ। परिस्थिति थप जटिल बन्दैथियो, निसहाय अवस्था थियो। यो सबै हत्या, हिंसा र विध्वंशबाट के हात लाग्ला?

म घर जानेबेला खयरका लामा…लामा कोसाहरू र काँडैकाँडा भएको खयरको एउटा हाँगो लिएर गएँ। मलाई थाहा थियो मेरो छोरो किरिल ती कुरा देखेर उत्साहित हुनेछ। भयो पनि त्यस्तै… उसले ती कोसाबाट थुप्रै बीउहरू निकालेर एउटा गमलामा रोप्यो।

धेरै दिन बित्न नपाउँदै चेचेन्याबाट थप दुःखद खबरहरू आए। सामास्कीमा फेरि आक्रमण भएको थियो र सेर्नोभोदस्क रिसोर्टको भवन ध्वस्त भएको थियो। ससाना नानीहरू पढ्ने त्यो पहिलाको विद्यालय अस्तित्वमा थिएन। मैले थाहा पाएँ… ती खयरका बलिया रूखहरू पनि सबै सखाप भएछन्।

तर सबै पनि होइन।

रसियाको मुटुमा माटो मुनिबाट एउटा कोमल अंकुर टुसाइरहेको थियो। हामीले त्यसको रेखदेख गर्‍यौँ, पानी हाल्यौँ, त्यो अंकुर विस्तारै माटोबाट बाहिर पृथ्वीको उज्यालोतर्फ हुर्किँदै गरेको देख्यौँ। अझ हुर्किएला, बढ्ला भन्ने विश्वास राखेर हामीले त्यो अंकुरलाई गमलाबाट निकाल्यौँ र बाहिर जमिनमा रोपिदियौँ।
त्यसपछि धेरै बर्ष विते। थुप्रै देशहरूमा अझै पनि मतभेदहरू युद्धमा परिणत हुन्छन्। हामीले शान्तिका बीऊहरू रोप्यौँ र माटोको ख्याल राख्यौँ भने रगत र मृत्युका बीच पनि कहीँकतै कोमल जीवन अंकुरित हुन सक्छ।

मेरो घर रसियामा चेनेन खयरको रूख हुर्किरहेको छ।