अल्लाह दयालु हुनुहुन्छ,  सायद अल्लाहलाई मेरो आवश्यकता छ

लेखकः पेट्रिसिया ककरेल, वेलायत

नेपाली अनुवादः सुभाष चन्द्र

Alicia Homichenko, age 16

सामनलाई सबैले मन पराउँथे, र सामन सबैथोक र सबैजनालाई मन पराउँथे। उनी चेचेन्यास्थित हरियालीयुक्त सर्नोभोदस्क उपत्यका भित्र सानो खेतबारी भएको मुसलमान गाउँमा बस्थे। त्यहाँका मानिसहरूको जीवन आनन्दको थियो। उनीहरू आफ्नो विद्यालय, कृषि क्याम्पस र नुहाउने तातोपानी पोखरीप्रति गर्व गर्थे। सामन एउटा पाउरोटी दोकानमा काम गर्थे, तर उनलाई मेशिनहरू, विजुलीका सामान, निर्माणको काम र विथोवेन अनि रक संगीत समेत मन पर्थ्यो। उनी कार देखि लिएर लुगा सिलाउने मेशिनसम्म जेसुकै मर्मत गर्न सक्थे।

चौबीस वर्षको हुँदा उनी आफ्नो परिवार, काम, साथीभाइ र शोखहरू सबै त्यागेर बाबुआमा र साना भाइहरूका निम्ति पैसा कमाउन मस्को गए। तर उनी मस्को पुगेको धेरै समय नबित्दै चेचेन्यामा युद्ध चर्कियो। मस्कोबाट चेचेन्या जाने पहिलो हवाइजहाज चढेर सामन घर फर्किए। हवाइजहाजमा उनी विदेशी पत्रकारहरूको छेउमा बसेका थिए। ती पत्रकारले सामनलाई ड्राइभर र पथप्रदर्शक बनेर चेचेन्याको राजधानी ग्रोज्नी घुमादिन अनुरोध गरे र त्यसबापत एक हजार अमेरिकी डलर दिने प्रस्ताव गरे। सामनले त्यो प्रस्ताव स्वीकार गरे।

ग्रोज्नीमा सामनले बम, लाश, तहसनहस भएका भवन, चकनाचुर फुटेका सिसा, भत्किएका फर्निचर र जतासुकै छरिएका घरायसी सरसामानहरूको गञ्जागोल देखे। छक्क लाग्दो कुरा, त्यस्तो आतङ्कबीच पनि मानिसहरू घरका भुईंतलामुनिका चेपचापमा बसिरहेका थिए। तीमध्ये अधिकांश रसियाली थिए, केही चाहिँ चेचेन, अजरबैजानी र अन्य देशका नागरिकहरू थिए। ती सबै एकैठाउँ कुँडुँलो परेर बसेका थिए… आतंकित र निसहाय; खाना, पानी, न्यानो र उज्यालो बिनै।

सामनले, अल्लाहको इच्छा रह्यो भने, ती मानिसहरूलाई खाना, पानी र औषधी ल्याइदिने बाचा गरे। उनले पटक…पटक आफ्नो बाचा पुरा गरे। हतियारधारीहरूलाई छल्दै, भित्री गल्लीहरूमा कुद्दै र गल्छेडाहरू छिचोल्दै, सामन र उनका भाइ अद्लानले ती मानिसहरूलाई सामान ल्याइदिन्थे, र विरामी अनि घाइतेहरूलाई उपचारस्थलहरूसम्म ल्याइदिन्थे।

“अल्लाह दयालु हुनुहुन्छ,” उनी आफैँलाई भन्थे। “सायद अल्लाहलाई मेरो आवश्यकता छ।”

जब आफ्नै गाउँ नाकाबन्दीमा पर्‍यो त्यसबेला उनले हिमाली क्षेत्रमा करिब त्रिचालीस किलोमिटर हिँडेर अर्को गाउँका पीडित मानिसहरूका लागि खाना र औषधी लगिदिए। उनले चेचेनहरूलाई आक्रमण गर्ने रसियाली सैनिकहरूलाई समेत खानेकुराहरू ल्याइदिए, किनभने उनीहरू पनि कठ्याङ्ग्रिएका र भोकाएका थिए। सामनका निम्ति आवश्यकतामा परेको कोही पनि शत्रु थिएन।

यसैबीच, सामनका छिमेकीहरूले युद्धबाट बढारिन अस्वीकार गरे। उनीहरूले मूल सडकमा एउटा शान्ति…शिविर खडा गरेर त्यो सडक हुँदै हिँड्नेहरूसँग कुराकानी गरे, अनि एउटा अस्थायी मस्जीदछेउ अग्नीमण्डप बनाएर त्यसको वरिपरि प्रार्थना गरे। मानिसहरू जाडो यामभर त्यही शान्ति…शिविरमा बसे, तर बर्खामा सामनको परिवारलगायत हजारौँ जनता बम हमलाको नयाँ चक्रबाट बच्न त्यहाँबाट हिँडे। भाग्यवस, सामन र उनको परिवारलाई छिमेकी गाउँ ईङ्गुसेतीयाका साथीहरूले आफ्नो घर लिएर गए।

सामनलाई थाहा थियो… न चेचेन न त उनका रसियाली साथीहरू नै युद्ध चाहन्थे। उनले आफ्नै गाउँघर फर्किएर शान्तिपूर्वक परिवार सम्हालेर बस्ने आश गरिरहे। अन्ततः त्यस्तो समय आयो… लडाईं रोकियो। सामन, अद्लान, परिवारका बाँकी सदस्य र उनीहरूका साथीभाइ सर्नोभोदस्क फर्किए। गाउँमा धेरै कुरा ध्वस्त भएका थिए, तर तिनको पुनर्निर्माणका लागि उनीहरूले धेरै मेहनत गरे।

सबभन्दा खुशीको कुरो त सामनले मिलानालाई भेटे र विवाह गरे। उनीहरूकी छोरी डायना क्रिसमसका दिन जन्मिइन्। उनीहरूले गाउँमा एउटा घर पुनर्निर्माण गर्ने भन्दा बढी र ठूलो काम गरे। एकजना वेलायती क्वेकर युवकको सहयोगमा क्रिश र अरू भिन्न…भिन्न संस्कृतिका व्यक्तिहरू मिलेर आवश्यकतामा परेका मानिसहरूलाई सहयोग गर्न भनि दिनको पचास बोरा पिठो बनाउने एउटा मिल थापे। त्यसैबीच, अद्लान र क्रिशले युद्धबाट पीडित बालवालिकाहरूलाई सहयोग गर्न, बालवालिकाहरू जसरी हाँस्नु र खेल्नुपर्ने हो त्यो सम्भव तुल्याउन ग्रोज्नीमा लिटल स्टार नामक एउटा केन्द्र स्थापना गरे।