अन्ना र छिर्केमिर्के कुखुरी

लेखकः रूथ हन्ट गेफवर्ट, जर्मनी

नेपाली अनुवादः सुभाष चन्द्र

Anzor Elmurzayev ink and pencil
Mailika Saiyeva, age 19
Nastasya Gagarinskaya, age 14 ink and watercolor

\दोस्रो विश्वयुद्धताका जर्मनीमा खानेकुराको धेरै अभाव थियो। मानिसहरू भोका थिए, खासगरी बालवालिकाहरू। आफ्नो साप्ताहिक साइकल यात्राका क्रममा शहरतिर जाँदा अन्नाले पसलहरूमा खानेकुरा खोजिहेरिन्। उनी निकै थाकेकी थिइन् र साइकल विस्तारै घिस्याउँदै थिइन्। त्यति विस्तारो गर्दा पनि उनको मुटुको घड्कन भने बढिरहेको थियो। उबेला उनी अधिकांश समय थकित र निरास हुन्थिन्। मानिसहरूसँग थोरबहुत चुकन्दरबाहेक किनबेच गर्ने कुनै खानेकुरा थिएन।

अकस्मात उनी पाइलो सार्नै नसक्ने भइन्। त्यसैले साइकल छेउमा लडाइराखेर शितल घाँसमा पल्टिइन् र सुनौला गाजरहरू तात्तातो नौनी घ्यू र सख्खरमा बाफिएर पाकिरहेको सपना देख्न थालिन्। सपनामै पनि उनलाई लागिरहेको थियो… यो मुर्ख र असम्भव कुरा हो। उनले कहिल्यै नौनी घ्यू र सख्खर चाखेकी थिइनन् तर आमाले उनलाई त्यसको स्वाद बताएकी चाहिँ थिइन्। उनले सुन्दर, राता, रसिला गोलभेडाको सपना पनि देखिन्। अन्नाले एउटा गोलभेडा खानै लागेकी थिइन् तर ती वेपत्ता भइहाले। उनी ब्युँझिइन्, कोल्टे फर्किइन्। उनको नजिकै दाहिने तिर एउटा छिर्केमिर्के कुखुरी चरिरहेको रहेछ। अन्ना र कुखुरी दुवैले एकअर्कालाई हेरे।

“किन मलाई घुरेर हेरेकी, हँ छट्टु कुखुरी?” अन्नाले सोधिन्। “तैँले मलाई किन ब्युँझाइस्?”

“क्व… क्व… क्वाँक…” कुखुरी पछि सर्दै भनि।

कुखुरीका छेउमा अन्नाले एउटा अण्डा देखिन्! त्यसलाई होशियारीपूर्वक भुईंबाट टिपिन्, त्यो अझै तातै थियो। “ओहो, तिमी कति सुन्दर, असल कुखुरी! ” उनले भनिन्। “मलाई माफ गर है, अघि मैले अलि रूखो बोलेँ। यति गज्जपको अण्डाका लागि धन्यवाद!”

अन्नाले अलि सहज महसुस गरिन्। आफ्नो टाउको बाँधेको टालो निकालेर अण्डा पोको पारिन् र चाँडो घर पुगेर आमालाई भेट्न हतारिँदै साइकल चढिन्। त्यसैबेला उनको दिमागमा एउटा असहज सोच आयोः त्यो अण्डा उनको थिएन। त्यो त छिर्केमिर्के कुखुरीका मालिकको पो हो। अन्नाले साइकलको गति घटाइन्। “होइन, यो अण्डा मेरो हो। कुखुरीले मेरै छेउमा पारेकी।” यस्तो सोच्दै अन्नाले साइकलको पाइडल चलाइरहिन्। तर एउटा सानो सेतो घर पुग्दानपुग्दै उनका खुट्टाले पाइडल चलाउन छोडे। एकदम विस्तारै उनी साइकलबाट ओर्लिइन् र त्यो सेतो घरतिर पाइला चालिन्।

त्यो सेतो घरको ढोकामा उभिएकी एक जवान महिलाले सोधिन्, “के भयो, नानी?”

इच्छा नहुँदानहुँदै, एउटा अमलेट खाने सपना विलाउँदै गएपछि, अन्नाले भनिन्, “अँ…उँम…तपाईंहरूको… एउटा छिर्केमिर्के कुखुरी छ?”

“छ, किन!” ती महिलाले आचम्म मान्दै सोधिन्।

अन्नाले एकदमै होशियारीपूर्वक अघि पोको पारेको कपडाबाट अण्डा निकालिन् र महिलालाई दिइन्। “यो तपाईंको हो,” मसिनो आवाजमा उनले भनिन्।

“ओहो, धन्यवाद,” महिलाले भनिन्। “त्यो कुखुरी जतासुकै अण्डा पारिहिँड्छे। हाम्रो सानो छोरालाई त्यसको अण्डा खुवाउने गरेको छ। छोरो धेरै विरामी छ। तिमी एकदम दयालु रहेछौ,” उनले भनिन्। “यो घरमा तिमीलाई दिने केही भए कस्तो जाति हुन्थ्यो, तर घरमा सबैकुरा एकदमै थोरै छ। मैले…मैले तिमीलाई दिने केही छैन।”

“ठिकै छ, भैगो,” भन्दै अन्ना आफ्नो साइकल चढिन्। उनी त्यो सानो सेतो घर, छिर्केमिर्के कुखुरी र गज्जवको अण्डा सबैथोकबाट टाढा जान व्यग्र थिइन्।

अन्ना घर पुगिन् र आमालाई दिनभरको कथा सुनाइन्। घर आउन ढिलो गरेकोमा, अलिकति चुकन्दर मात्रै लिएर आएकोमा वा अण्डा नल्याएकोमा आमाले कराउनुहुने हो कि भन्ने डर थियो। तर आमाले मुस्कुराउँदै अन्नाको कपाल सुम्सुम्याइदिनुभयो।

“आमा, त्यसोभए तपाईं मसँग रिसाउनु भएन? शहर गएर सागसब्जी किनेर ल्याउन मेरो उमेर पुगेको छैन भन्ने लाग्दैन तपाईंलाई?”

“लाग्दैन, अन्ना,” आमाले भन्नुभयो। “म त सोच्दैछु, मेरी छोरी कति अशल छिन्। जब कुनै व्यक्ति हरक्षण एकदम भोकाएको हुन्छ, त्यस्तो बेला एउटा बुद्धिमानले मात्रै अण्डा फिर्ता गर्ने जस्तो कठिन निर्णय लिन सक्छ।”